३० कात्तिक, जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्यचौकीमा आयोजित कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५९ जना स्थानीयले सेवा पाएका छन्। गाउँपालिकाको आयोजनामा र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ जना पुरुष र एक सय २३ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिए।
सिंजा गाउँपालिका-३ की नुन्नु उपाध्यायले गाउँमै दक्ष चिकित्सकबाट कानको उपचार पाउँदा स्थानीयवासी खुसी भएको प्रतिक्रिया दिइन्। यस प्रकारको स्वास्थ्य शिविरले दुर्गम क्षेत्रमा रहेका मानिसहरूलाई आधारभूत स्वास्थ्य सेवा सहजै उपलब्ध गराएको भन्दै स्थानीयले आभार व्यक्त गरेका छन्।
गाउँपालिकाले यस किसिमका स्वास्थ्य शिविर आगामी दिनहरूमा अन्य स्थानमा पनि सञ्चालन गर्ने योजना बनाएको बताएको छ। दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीका लागि स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुनु ठूलो उपलब्धि मानिएको छ। शिविरले ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यलाई पूरा गरेको छ, जसका कारण स्थानीयहरूमा सकारात्मक प्रभाव परेको छ।






























