काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन गरेका ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा ४४ रिक्त पदका लागि ४१० जना उम्मेदवार मनोनयनमा परेका भए पनि केहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।
आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका पदका लागि विभिन्न राजनीतिक दलबाट २८९ र स्वतन्त्र १२१ उम्मेदवार रहेका छन्।
त्यस्तै, तीन स्थानमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। ओखलढुंगामा नेपाली कांग्रेसका टेकराज भट्टराई, कैलालीमा कांग्रेसकै टीका कुमारी चौधरी (भुल) र रुकुम (पूर्वी) को पुथा उत्तरगंगा वडा नम्बर २ मा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन्।
उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भए पनि पाँच दलले कुनै पनि पदमा उम्मेदवारी नदिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता नगर्ने दलमा हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वी.पी.), नेपाली जनता दल र आम जनता पार्टी छन्।
































