नेपालको वर्तमान राजनीतिक परिदृश्यमा सर्वसाधारण अन्योल र असन्तोषको स्थितिमा छन्। कसलाई विश्वास गर्ने र कसलाई नगर्ने भन्ने प्रश्नमा मानिसहरू अलमलमा छन्। सही समाचार र गलत समाचारको भेद गर्न, सही नेता वा दल छान्न अहिले सर्वसाधारणले ठूलो चुनौतीको सामना गरिरहेका छन्। ढाँट, छलकपट र भ्रमको बिचमा राजनीति के हो र के होइन भन्ने पर्गेल्न कठिन भएको छ।
अव्यावहारिकताको कारणहरू
राजनीति जति व्यावहारिक हुन्छ, त्यति नै सरल र प्रभावकारी बन्छ। तर आजको राजनीति खराब, अव्यावहारिक र भ्रमपूर्ण बनेको छ। यसको मुख्य कारण भनेकै पद मोह, सिद्धान्तहीनता र सेवा भावको अभाव हो। राजनीतिज्ञहरू सिंहदरबारदेखि वडासम्मको पदलाई मात्र केन्द्रमा राखेर गतिविधि सञ्चालन गरिरहेका छन्। जनसेवा र इमानदारीताजस्ता राजनीतिका मूल तत्व हराउँदै गएका छन्।
आधुनिक नेपालको राजनीति वैश्य युगको सिकार बनिसकेको छ। अहिले चुनाव लड्न पैसा अनिवार्य जस्तै बनाइएको छ। पैसाको बिटो बिना कुनै पनि नेता वा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उभिन सक्दैनन्। यो प्रवृत्तिले लोकतन्त्रलाई झन् कमजोर बनाउँदै लगेको छ।
लोकतान्त्रिक संस्थाहरूको क्षयीकरण
नेपालमा लोकतान्त्रिक संस्थाहरूको कमजोर स्थितिले राजनीतिलाई थप जटिल बनाएको छ। संसद्, अदालत, अख्तियार, निर्वाचन आयोग जस्ता संस्थाहरू स्वतन्त्र रूपमा काम गर्न असमर्थ भएका छन्। यी संस्थाहरू दलविशेष वा नेताविशेषको आदेशअनुसार मात्र सञ्चालन भइरहेका छन्। यसले संविधान र कानुनको मर्यादालाई खतरामा पारेको छ।
संवैधानिक निकायहरूलाई स्वतन्त्र र निष्पक्ष बनाउन असफल हुँदा लोकतन्त्रको आधार कमजोर हुन्छ। यस्तो अवस्थामा राजनीति व्यक्ति विशेषको स्वार्थपूर्तिको साधन बन्न पुग्छ।
राजनीति र अपराधको गठजोड
राजनीतिमा अपराधको प्रभाव झन् गहिरो बन्दै गएको छ। माओवादी विद्रोहको समयमा शुरू भएको हिंसात्मक राजनीतिले आजको दिनमा पनि गम्भीर चुनौतीको रूपमा उभिएको छ। चुनावी प्रणाली मसल, मनी र अपराधको कब्जामा पुगेको छ। यसले लोकतान्त्रिक प्रणालीलाई दूषित मात्र बनाएको छैन, समाजमा अन्योलता पनि थपेको छ।
अपराध र राजनीतिबीचको सम्बन्ध तोड्न नसक्ने हो भने लोकतान्त्रिक गणतन्त्रलाई गम्भीर खतराको सामना गर्नुपर्ने निश्चित छ।
व्यक्तिवादी सोच र राजनीतिमा हिरो बन्ने होड
लोकतान्त्रिक राजनीतिमा व्यक्तिहरू आउँछन् र जान्छन्। तर नेपालमा राजनीतिलाई संस्थागत गर्नेतर्फ भन्दा व्यक्तिवादी सोचलाई बढावा दिने प्रवृत्ति हावी छ। नेताहरूले आफूलाई समाजको समस्याको समाधानकर्ता भन्दै प्रचार गर्छन्, तर उनीहरूको व्यवहारले समस्या समाधानभन्दा पनि थप जटिलता निम्त्याउँछ।
राजनीतिक नेतृत्वले भ्रष्टाचार र बेथितिलाई नियन्त्रण गर्न समयमै कदम चाल्न नसके लोकतान्त्रिक गणतन्त्र नै जोखिममा पर्ने खतरा छ।
परिणाम र चुनौती
राजनीतिमा व्याप्त अव्यावहारिकता र अन्योलताले ठूलो संख्यामा भ्रमित मास पैदा गरिरहेको छ। यस्तो स्थितिमा लोकतान्त्रिक संस्कार र संस्थाहरूलाई गहिरो क्षति पुर्याउन सक्छ। अव्यावहारिक राजनीतिले तानाशाही सोचको उदय गराउँछ या जनतालाई भ्रममा पार्ने ‘टेलिजेनिक हिरो’हरूको जन्म गराउँछ।
समाधानको खोजी
राजनीतिक क्षेत्रलाई सफा र व्यावहारिक बनाउने जिम्मेवारी सबै राजनीतिक दल र तिनका नेताहरूको हो। संविधान, ऐन र कानुनको पालनासहित संस्थाहरूलाई बलियो र स्वायत्त बनाउन आवश्यक छ। यसका साथै, राजनीतिमा सेवा भावलाई पुनःस्थापित गरी भ्रष्टाचार र बेथितिविरुद्ध सशक्त कदम चाल्नुपर्छ।
नेपाल अहिले लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेको छ। यस अवस्थामा राजनीतिलाई थप भ्रष्ट र अव्यावहारिक बन्नबाट रोक्न नेतृत्व तहमा रहेको सबै पक्ष सचेत बन्न आवश्यक छ। सुशासन र पारदर्शिताको स्थापना, भ्रष्टाचारको नियन्त्रण, र जनताको विश्वास जित्न नेताहरूले इमानदार र सशक्त भूमिका खेल्नैपर्ने समय आएको छ।
राजनीति जनसेवाको पवित्र अभ्यास हो। यसलाई सही मार्गमा ल्याउन इमानदार प्रयास भए मात्रै लोकतन्त्रको भविष्य सुरक्षित बन्नेछ।



























