९ मंसिर, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा उपस्थित गराइएका छन्। गत कात्तिक २५ मा थपिएको १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालत पेस गरिएको हो।
लामिछाने २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ। पोखराको सूर्यदर्शन सहकारीबाट करिब पाँच करोड रुपैयाँ गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोपमा उनी अनुसन्धानको दायरामा परेका हुन्।
उक्त सहकारीको रकम लामिछाने र अन्य अभियुक्तहरू—जीबी राई, छविलाल जोशी र कुमार रम्तेल—ले गोर्खा मिडियामा प्रयोग गरेको उजुरी परेको छ। संसदीय छानबिन विशेष समितिले उनीहरूलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेपछि रवि र छविलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जीबी राई फरार रहेका छन्।
चितवनको सहारा सहकारी र बुटवलको सुप्रिम सहकारीबाट समेत रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत चितवनले मंसिर ७ मा रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
रास्वपाले भने रविको गिरफ्तारीलाई राजनीति प्रेरित भएको आरोप लगाएको छ। प्रहरीका अनुसार सहकारीको रकम गोर्खा मिडिया प्रालिमा गएको देखिएको भए पनि लामिछानेको नाममा कुनै कर्जा नदेखिएको उल्लेख गरिएको छ।
































