पोखरा, १७ मंसिर। स्थानीय तह उपनिर्वाचनको अन्तिम चरणको मतगणना जारी रहँदा तीन स्थानबाहेक अधिकांश नतिजा आइसकेका छन्। ४४ स्थानमा भएको उपनिर्वाचनमा माओवादी केन्द्रले तुलनात्मक रूपमा सन्तोषजनक प्रदर्शन गर्दै एक अध्यक्ष, एक उपमेयर, र एक उपाध्यक्षसहित ९ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रका नेताहरूले यसपटकको परिणामलाई पार्टीको संगठन बलियो हुँदै गएको संकेतका रूपमा लिएका छन्। प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीले उकालो गति लिएको बताएका छन्। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी उम्मेदवार नरपुरा बुढाको विजयलाई कांग्रेस-एमाले गठबन्धनलाई तोड्ने शक्तिका रूपमा हेरिएको छ।

यता, कांग्रेस र एमालेका लागि भने उपनिर्वाचनको नतिजा अपेक्षा अनुरूप भएन। कांग्रेसले ४१ स्थानमा उम्मेदवारी दिएर १६ वडा जितेको छ, तर कुनै पनि अध्यक्ष वा उपाध्यक्ष पद जित्न सकेको छैन। कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार कृष्णमान डंगोल अघि भए पनि समग्र परिणामले कांग्रेसलाई निराश बनाएको छ। एमालेले ३९ स्थानमा उम्मेदवारी दिएर ५ स्थानमा मात्र जित हात पार्दा तेस्रो स्थानमा परेको छ। एमालेका नेता महेशकुमार बर्तौलाले जनताको निर्णयको सम्मान गर्दै गहिरो समीक्षा गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवस्था झन् कमजोर रह्यो। पार्टीले २७ स्थानमा उम्मेदवारी दिए पनि काठमाडौं महानगरपालिका-१६ को एउटा वडा मात्रै जित्न सक्यो। दर्जनौँ स्थानमा जमानत जफत हुँदा रास्वपाले स्थानीय तहको राजनीति अझै चुनौतीपूर्ण रहेको स्विकारेको छ।

माओवादी केन्द्रका नेताहरूले उपनिर्वाचनको परिणामलाई पार्टीको सुदृढीकरणको प्रमाणका रूपमा लिँदै अबको यात्रा अझ बलियो बनाउने बताएका छन्। तर, अन्य प्रमुख दलहरूले भने आफ्नो कमजोर प्रदर्शनको समीक्षा गरेर सुधारको बाटो अपनाउनु पर्ने देखिन्छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0