२९ मंसिर, म्याग्दी। म्याग्दीको बेनी अस्पतालको ५० श्यया क्षमता भएको नयाँ भवन निर्माण आठ वर्षपछि पनि पूरा हुन सकेको छैन। तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भवन निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ। पाँच वर्षअघि सकिनुपर्ने भवनको भौतिक प्रगति अहिले ८० प्रतिशत मात्र भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीका अनुसार भवन निर्माणमा ढिलाइका कारण बिरामीहरूको उपचारमा असर परेको छ। ५० श्यया क्षमताको भवन भए पनि अस्पताल १५ श्ययाको संरचनाबाट सेवा दिनुपर्ने बाध्यता छ।
सघन सहरी र भवन निर्माण आयोजनाले २०७३ सालमा रु १८ करोड ८४ लाख आठ हजारमा निर्माण ठेक्का सम्झौता गरेको थियो। निर्माण कार्यलाई पाँच पटक म्याद थप गरिएको छ, र हालसम्म भवनका भित्री कामहरू, झ्याल ढोकाहरू र विद्युत्, पानी जडानका कार्यहरू बाँकी छन्।
अस्पताल भवन अभावले विशेषज्ञ चिकित्सक ल्याउन र अन्य महत्वपूर्ण स्वास्थ्य सेवाहरू प्रदान गर्न असहज बनाएको छ।
-रासस




























