१ पुस, पोखरा । बिटक्वाइनले नयाँ ऐतिहासिक कीर्तिमान बनाउँदै आफ्नो मूल्यलाई थप उचाइमा पुर्याएको छ। नोभेम्बर ५ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयपश्चात्, यो क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
सोमबार बिहान एसियाली बजारमा बिटक्वाइनको मूल्य $१,०६,००० (£८३,८९०) नाघेर फेरि झरेर $१,०४,५०० वरिपरि व्यापार भइरहेको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार विश्लेषकहरूले ट्रम्प प्रशासनलाई क्रिप्टोकरेन्सीको पक्षमा मैत्रीपूर्ण मानिरहेका छन्। ट्रम्पले क्रिप्टोकरेन्सीलाई प्रोत्साहन दिने नीति अपनाउन सक्ने अनुमानका कारण बिटक्वाइन र अन्य डिजिटल मुद्राहरूको बजार उत्साहित देखिएको छ।
गएको बिहीबार, निर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा रणनीतिक तेल भण्डारझैं एउटा राष्ट्रिय डिजिटल मुद्रा भण्डारको सिर्जना गर्ने सम्भावनाको पुनः उल्लेख गरे। यसले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूलाई कानुनी मान्यता र सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसै महिनाको सुरुमा, ट्रम्पले सिलिकन भ्यालीका उद्यमी डेविड स्याक्सलाई कृत्रिम बुद्धिमत्ता (एआई) र क्रिप्टोकरेन्सी सम्बन्धित विशेष जिम्मेवारी सुम्पिने घोषणा गरे। स्याक्स, जो पेपलका पूर्व कार्यकारी हुन्, ट्रम्पका सल्लाहकार तथा उद्यमी एलन मस्कका निकट साथीसमेत हुन्।
त्यस्तै, ट्रम्पले वाल स्ट्रिट नियामक संस्था सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) का नयाँ अध्यक्षको रूपमा क्रिप्टोकरेन्सी समर्थक वाशिङटनका वकिल पउल एट्किन्सलाई मनोनयन गर्ने योजना सार्वजनिक गरेका छन्।
एसईसीका हालका अध्यक्ष गेरी गेन्स्लरले आगामी जनवरी २० मा ट्रम्पको पदभार ग्रहणसँगै आफ्नो राजीनामा दिने घोषणा गरिसकेका छन्। उनले आफ्नो कार्यकालमा कानुन कार्यान्वयन र निष्पक्ष निर्णयमा ध्यान दिएको बताए। गेन्स्लरले क्रिप्टोकरेन्सी फर्महरूमाथि कानुनी कारबाही चालेपछि विवादको केन्द्रमा परेका थिए।
यसै क्रममा, ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै गेन्स्लरलाई हटाउने बताएका थिए। उनले क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्न प्रयास गर्ने कदमहरूलाई उद्योगको विकासमा बाधा पु¥याउने आरोप लगाएका थिए।
बिटक्वाइनको मूल्यमा आएको यो चमत्कारी वृद्धि र ट्रम्प प्रशासनको सकारात्मक दृष्टिकोणले डिजिटल मुद्राहरूको भविष्यप्रति नयाँ आशा जागृत गरेको बिबिसीले जनाएको छ।































