पोखरा, ४ पुस । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भोली डिसेम्बर १९ र २० सम्म पोखरामा हुने ‘फेवा संवाद २०२४’ को आयोजना सम्बन्धी जानकारी दिएका छन्। पोखरामा नै यही पुस १३ देखि १५ गतेसम्म (डिसेम्बर २८–३०) सञ्चालन हुने दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिताको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेयर आचार्यले यो सम्मेलन हुने जनाएका हुन् । साथै बुधबार त्रिभुवन विश्वविद्यालयले पोखरा इभेन्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनको बृस्तित विवरण सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुआन विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा यो सम्मेलन सम्पन्न हुने आयोजकले जनाएका छन्।
‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ विषयमा केन्द्रित यो सम्मेलन नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रममा दक्षिण एसिया, दक्षिणपूर्व एसिया र चीनका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
त्रिभुवन विश्वविद्यालयका अनुसार, यस अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय संगठनका नेता, थिङ्क ट्याङ्कका प्रतिनिधि, साथै प्रतिष्ठित विज्ञ र विद्वानहरूको पनि उपस्थिति रहनेछ। यस कार्यक्रमले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र चीनबीच सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका एलुम्नाईहरूले मुलुकका विभिन्न क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको र त्रिविले विश्वका १८२ वटा विश्वविद्यालयहरूसँग शैक्षिक तथा अनुसन्धानात्मक सहकार्य गरिरहेको उल्लेख गर्दै, यो सम्मेलनले दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरूबीच प्रविधि र विकासको साझेदारीलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
सम्मेलनमा चीनका ३०, नेपालका २० तथा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मलेसिया, सिंगापुर र इण्डोनेसियाका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको छ। उद्घाटन सत्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, पूर्वमन्त्रीहरू कमल थापा, डा. युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा. प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. दिपेन्द्र बहादुर क्षेत्री, प्रा. डा. गोविन्दराज पोखरेल, डा. विश्व पौडेल तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
फेवा संवाद २०२४ मार्फत विश्वका प्रभावशाली राष्ट्रहरूसँग सहकार्य गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। पोखरामा हुन लागेको यस कार्यक्रमले अन्तर्राष्ट्रिय सम्बन्ध, ज्ञान र अनुभव साटासाटमा विशेष भूमिका खेल्ने विश्वास गरिएको छ।





























