पोखरा – नेपाल पत्रकार महासंघ कास्कीको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सञ्चार जगतलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले राजनीतिक अस्थिरताका कारण नीतिगत स्थायित्व नभएको र यसले सरकारका कुनै पनि अंगलाई प्रभावकारी काम गर्न अवरोध पुर्‍याएको बताउनुभयो।

मन्त्री गुरुङले आम सञ्चार विधेयक निर्माणको प्रक्रिया सरोकारवालासँगको परामर्शपछि अघि बढ्ने र विधेयक प्रभावकारी बनाउन सुझाव संकलन गरिने जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले पत्रकारको स्वाभिमान लोकतन्त्रको बलियो आधार भएको बताउँदै पत्रकारितामा सत्यनिष्ठा कायम राख्नुपर्ने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्र कास्कीका इन्चार्ज विश्व प्रकाश लामिछानेले सुशासन र सामाजिक न्याय प्रवर्द्धनमा पत्रकारिताको भूमिकालाई विशेष महत्त्वपूर्ण बताउनुभयो।

निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो। नवनिर्वाचित अध्यक्ष माधव बरालले अग्रजहरूको मार्गदर्शनलाई आत्मसात् गर्दै महासंघलाई सबै पत्रकारको साझा संस्था बनाउने प्रतिबद्धता जनाउनुभयो।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट माधव बरालको नेतृत्वमा निर्वाचित कार्यसमितिले पहिलो बैठकमा महासंघको सदस्यता प्राप्त गर्न सिफारिस भएका १८ जना पत्रकारलाई पुनः सिफारिस गर्ने निर्णय गरेको छ। कार्यक्रममा निर्वाचन समितिका संयोजक पुण्य पौडेलले अध्यक्षता गर्नुभएको थियो भने स्वागत निर्वाचन समितिका सदस्य रविन्द्र बास्तोलाले र सञ्चालन अधिवक्ता गोविन्द पौडेलले गर्नुभएको थियो।

कार्यसमितिमा उपाध्यक्ष माधव रेग्मी, महिला उपाध्यक्ष कञ्चन थापा, सचिव भुपाल गुरुङ, सह सचिव मधु अधिकारी, समावेशी सह सचिव धनबहादुर गुरुङ, कोषाध्यक्ष राजाराम पौडेलसहित विभिन्न क्षेत्रका प्रतिनिधि सदस्यहरू निर्वाचित भएका छन्। नव निर्वाचित समितिले महासंघको गरिमा उच्च बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0