पोखरा, ९ पुस । चीनको मध्य क्षेत्रस्थित चाङडे सहरमा एक व्यक्तिले कारलाई भीडमा ठोक्क्याएर १८ बालबालिका सहित ३० जनालाई घाइते बनाएको घटनामा अदालतले दोषीलाई मृत्युदण्डको निलम्बित सजाय सुनाएको छ। यो घटना गत १९ नोभेम्बरमा भएको थियो।
दोषी ह्वाङ वेनलाई अदालतले दुई वर्षभित्र अर्को अपराध नगरेमा मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न सकिने निर्णय गरेको छ। तर यो फैसलाले सामाजिक सञ्जालमा विवाद उत्पन्न गराएको छ। धेरैले अदालतलाई दोषीप्रति नरम व्यवहार गरेको आरोप लगाएका छन्।
अदालतको बयान अनुसार, ह्वाङले लगानीमा घाटा र पारिवारिक विवादको आक्रोश पोख्न उक्त आक्रमण गरेका थिए। यो घटना तेस्रो हप्ता भित्र चीनमा भएको यो प्रकृतिको तेस्रो हमला थियो।
चाङडे घटनाका दृश्यहरू सामाजिक सञ्जालबाट मेटाइएका छन्, तर घटना पछि भाइरल भएका भिडियोहरूमा बालबालिकाहरू जमिनमा लडिरहेको, भीड त्रासदीमा भागिरहेको र एक पैदल यात्रीले कारभित्र रहेका ह्वाङलाई हतियारले प्रहार गरिरहेको देखिन्थ्यो।
अदालतले ह्वाङको कार्यलाई “अत्यन्त गम्भीर आपराधिक अवस्था” भन्दै व्याख्या गरेको छ। सजायसँगै, ह्वाङलाई जीवनभर राजनीतिक अधिकारबाट समेत वञ्चित गरिएको छ।
यो घटनामा घाइतेहरूको यकिन सङ्ख्या पहिलोपटक अदालतको फैसलासँगै सार्वजनिक भएको हो।
यसअघि, यही हप्तामा ग्वाङ्डोङ प्रान्तको झुहाई सहरमा एक व्यक्तिले आफ्नो सम्बन्ध विच्छेदको असन्तोषका कारण कारलाई भीडमा ठोक्क्याउँदा ३५ जनाको ज्यान गएको थियो।
समाजशास्त्रीहरूका अनुसार यस्ता घटना मानिसहरूको व्यक्तिगत आक्रोश र समाजप्रतिको प्रतिशोध हुन्। केहीले भने चीनको आर्थिक अवस्था र जनताको दबिएको निराशा यस्ता घटनाका कारण भएको दाबी गरेका छन्।
“यस्तो जघन्य अपराधका दोषीलाई निलम्बित सजाय किन दिनुपर्यो?” एक वेइबो प्रयोगकर्ताले लेखे। अर्को टिप्पणीकारले भने, “यस्ता घटनाहरूलाई गम्भीर रूपमा र छिटो न्याय गर्नुपर्छ ताकि यो अन्यका लागि चेतावनी बन्न सकोस्।”
स्रोत: बीबीसी


























