मुगु । नेपाल पत्रकार महासङ्घ मुगु शाखाले जिल्लामा लामो समयदेखि पत्रकारितामा योगदान पुर्याएका दुई अग्रज पत्रकारलाई सम्मान गरेको छ। शाखाको नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले रेडियो नेपालका समाचारदाता विनोदकुमार मल्ल र राष्ट्रिय समाचार समिति (रासस) का नृपेन्द्रबहादुर मल्ललाई सम्मान गरेको हो।
विनोदकुमार मल्लले विगत २६ वर्षदेखि रेडियो नेपालमार्फत दुर्गम जिल्लामा पत्रकारिता गर्दै आएका छन्। उनी महासङ्घको तदर्थ समिति गठनका क्रममा संस्थापक अध्यक्षको भूमिकामा रहेका थिए। त्यस्तै, नृपेन्द्रबहादुर मल्लले २१ वर्षदेखि रासस, हाम्रा कुरा डटकम, हिमालय टाइम्स, र गोरखापत्र दैनिकमा लेखन गर्दै दुई कार्यकाल महासङ्घ मुगु शाखाको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए।
कार्यक्रममा महासङ्घका अध्यक्ष अच्युतराज भण्डारीले दुवै पत्रकारलाई सम्मानपत्रसहित खादा लगाएर सम्मान गरे। निवर्तमान उपाध्यक्ष सुमित्रा रावल र केन्द्रीय परिषद प्रतिनिधि विमल हमाललाई कर्णाली प्रदेश समितिमा निर्वाचित भएकोमा शुभकामना समेत व्यक्त गरिएको थियो।
































