बीबीसीका अनुसार, न्यूयोर्कको ब्रुकलिनस्थित सबवेमा गत २२ डिसेम्बर एक महिलालाई आगो लगाई हत्या गरिएको घटना सार्वजनिक भएको छ। पीडितको पहिचान ५७ वर्षीया देब्रिना कावामको रूपमा भएको छ। उनी न्युजर्सी निवासी थिइन्।

घटनामा संलग्न भएको आरोपमा ३३ वर्षीय सेबास्टियन जापेटालाई पक्राउ गरिएको छ। उनले सबवेको एउटा डब्बामा सुतिरहेकी महिलामाथि लाइटरको सहायताले आगो लगाएको र आफ्नो कपडाको टुक्राले आगो फुकाएर फैलाएको प्रहरीले जनाएको छ। आगलागीपछि आरोपी सबवे स्टेसनको प्लेटफर्ममा बसेर आगो फैलिँदै गएको हेरिरहेको देखिएको थियो।

न्युयोर्क सहरको मेडिकल जाँचकर्ताको कार्यालयका प्रवक्ता जुली बोल्सरले घटनामा महिलाको मृत्युलाई हत्या भनेर पुष्टि गरिएको बताएकी छिन्। मेडिकल रिपोर्टअनुसार, मृत्युलाई “थर्मल र इनहेलेशनल चोट” का कारण भएको घोषणा गरिएको हो। कावामको पहिचान औँलाको छापमार्फत गरिएको र यसमा विभिन्न विभागको सहकार्य रहेको प्रवक्ताले बताइन्।

घटनाको अनुसन्धानमा ब्रुकलिनका जिल्ला अभियोजन एरिक गोन्जालेजले डिएनए र औँलाको छापको सहायताले कावामको परिवारलाई जानकारी दिन प्रयास गरिएको बताए। यो अनुसन्धानको क्रममा केही गलत सूचना र एआईद्वारा सिर्जित गलत तस्वीरहरू सामाजिक सञ्जालमा फैलिएको थियो।

न्युयोर्कका मेयर एरिक एडम्सले घटनालाई गम्भीर रूपमा लिएर सहरको सबवे प्रणालीमा मानिसहरूको सुरक्षाबारे प्रश्न उठाएका छन्। उनले कावामले केही समय सहरको एक बेघर आश्रयमा बिताएको उल्लेख गर्दै सबवे प्रणालीमा मानिसहरूले बस्नु हुँदैन, उनीहरूलाई सुरक्षित ठाउँमा पुर्‍याउनुपर्छ भन्ने धारणा व्यक्त गरे।

प्रहरीका अनुसार, कावाम सबवे स्टेसनमा स्थिर अवस्थामा सुतिरहेकी थिइन्। आरोपीले आगो लगाउनु पूर्व दुवैबीच कुनै अन्तर्क्रिया भएको देखिएको छैन। घटनाका समयमा सबवे स्टेसनका प्रहरी र यातायात कर्मचारीहरूले आगलागी भएको थाहा पाएपछि आगो निभाएका थिए। तर, कावामको घटनास्थलमै मृत्यु भएको थियो।

आरोपी जापेटाले प्रारम्भिक बयानमा मदिरा सेवन गरेका कारण घटना सम्झन नसकेको बताएका छन्। तर, उनले घटनास्थलका फोटो र भिडियोमा आफूलाई चिन्ने गरेको प्रहरीको भनाइ छ। जापेटा, जो ग्वाटेमालाका नागरिक हुन्, सन् २०१८ मा अमेरिकाबाट डिपोर्ट गरिएका थिए र पुनः गैरकानुनी रूपमा प्रवेश गरेको बताइएको छ।

न्युयोर्कको सबवेमा घटेका यस्ता हिंसात्मक घटनाले यात्रुहरूको सुरक्षाबारे थप चिन्ता उत्पन्न गराएको छ। भर्खरै म्यानहट्टनको चेल्सी क्षेत्रमा पनि एक व्यक्तिलाई रेलको ट्र्याकमा धकेलिएको घटनाले सबवे प्रणालीमा सुरक्षा चुनौती देखाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0