काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले शेरा दरबारको जग्गा ललिता निवासको सयौं रोपनी जग्गा जस्तै सरकारको नाममा फिर्ता ल्याउनुपर्ने बताउनुभयो। उहाँले यस प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै जो कोही व्यक्तिले गैरकानुनी ढंगले सरकारको जमिन आफ्नो नाममा राखे भने उनीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष प्रचण्डले भने, ‘‘मैले अरू भन्नु केही छैन, जसरी ललिता निवासको सयौं रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइयो, त्यसैगरी शेरा दरबारको पनि फिर्ता ल्याइयो भने म सरकारलाई धन्यवाद दिनेछु।’’

नुवाकोटको विदुर नगरपालिका-२ स्थित शेरा दरबार र यससँग सम्बन्धित १८४ रोपनी ४ आना १ पैसामा १६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको आरोप लगाइएको छ। यस विषयमा सीआईबीले सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा सारिएको भन्दै सरकारलाई पत्राचार गरेको छ।

समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन विधेयकसम्बन्धी छलफल भइरहेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0