काठमाडौं, पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकताको भावनालाई केन्द्रमा राखेर सुशासनका पक्षमा सबै एकताबद्ध हुन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सूचनाको युगमा प्रविधिको विकासले ल्याएका अवसर र चुनौतीप्रति सञ्चारकर्मी सचेत हुनुपर्ने बताए।

उनले निष्पक्ष पत्रकारिताका लागि महासङ्घलाई आग्रह गर्दै भ्रष्टाचारका विषयमा एकअर्कालाई दोषारोपण गर्नुभन्दा निष्पक्षरूपमा छानबिन गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली समिति बनाउन आग्रह गरे। उनले एकले अर्कालाई दोष लगाउनुको सट्टा निश्चित मापदण्ड बनाएर छानबिन गर्नुपर्ने बताए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले राजनीतिक नेतृत्वले समाजमा सधैँ सकारात्मक सन्देश सम्प्रेषण गर्नुपर्ने बताए। युवाहरूको आग्रहअनुसार राजनीतिक नेतृत्व गर्ने दलहरूले सही सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0