पोखरा, २० पुस । गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको विकासमा एक महत्वपूर्ण कदम चालिएको छ। गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भौतिक संरचना निर्माणको थालनी भएको छ। पोखराको फेदीखोला गाउँपालिका वडा १, गुर्धुममा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरिएको हो। गण्डकी प्रदेश सरकार र कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका) बीच भएको सहयोग सम्झौतासँगै यो परियोजनाले गति लिएको छ।
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजित एक समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपालस्थित कन्ट्री डाइरेक्टर मुहेन कङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार कोइकाले प्रतिष्ठानको पूर्वाधार निर्माण र विभिन्न शैक्षिक कार्यक्रमका लागि ९० लाख अमेरिकी डलर अर्थात् १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी लगानी गर्नेछ। यो परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुनेछ। कोइका र जिटिइभिटीएले संयुक्त रूपमा यो परियोजना कार्यान्वयन गर्नेछन्।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास गरेका थिए। भवनको निर्माण सन् २०२६ को अगस्टसम्म सम्पन्न हुने लक्ष्य राखिएको छ। ३ करोड ५५ लाख १९ हजार १ सय ९१ रुपैयाँ (भ्याटसहित) लागत अनुमान गरिएको यो भवनको निर्माण जिम्मा आरुषी कन्स्ट्रक्सन, पोखराले पाएको छ।
यो परियोजनाको मुख्य उद्देश्य २१औँ शताब्दीको घरेलु तथा अन्तर्राष्ट्रिय आवश्यकतालाई पूरा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु हो। यसले प्राविधिक र व्यावसायिक शिक्षा तथा तालिम नीति र १५औँ राष्ट्रिय योजनासँग समन्वय गर्दै निर्माण क्षेत्रको आवश्यकता पूरा गर्न र रोजगारीका अवसर बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ। कोइकाले ४ हजार ५ सय ३० वर्गमिटरको प्राविधिक शिक्षालय भवन निर्माण गर्ने योजना बनाएको छ। भवनमा कक्षाकोठा, कार्यशाला, महिला छात्रावास लगायत आवश्यक उपकरण, फर्निचर र शैक्षिक सामग्री उपलब्ध हुनेछन्। कोइकाले प्राविधिक शिक्षालयको मास्टर प्लान, छोटो अवधिका तालिम, सञ्चालन योजना, करियर सेवा प्याकेज र उद्योगसँगको सहकार्य विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग प्रदान गर्नेछ।
मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै यो परियोजनाले नेपाललाई आर्थिक समृद्धि हासिल गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे। कोइकाका कन्ट्री डाइरेक्टर कङले यो परियोजनाले युवा, महिला र सीमान्तकृत व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने बताए। सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले यो परियोजनाले देशभित्र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गर्ने बताए। प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सोमनाथ सापकोटाले अटोमोबाइल, इलेक्ट्रोनिक्स, टुरिजम एण्ड हस्पिटालिटी क्षेत्रमा अध्ययन अध्यापन हुने जानकारी दिए।
प्रतिष्ठानका लागि १ सय ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइएको छ। जग्गा उपलब्ध गराउन २२ रोपनीमा फैलिएको शिवालय आधारभूत विद्यालयलाई सर्केटारी सारिएको थियो। जग्गा दिएर सहयोग पुर्याएकोमा उक्त विद्यालयको विकासका लागि सरकारले प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले बताए।



























