मेचीनगर, झापा, पुस २२ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले प्राप्त गरेको लोकप्रिय मतका आधारमा चुनिएका व्यक्तिलाई पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने सुनिश्चितता गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस झापा क्षेत्र नं १ द्वारा मेचीनगरमा आयोजित क्षेत्रीय भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले नेपालमा प्रधानमन्त्रीहरू लगातार पाँच वर्षसम्म टिक्न नसकेको समस्यालाई सम्बोधन गर्न यो प्रस्ताव अघि सारेका हुन्। उनले राणा शासनपछिका कुनै पनि प्रधानमन्त्रीले पाँच वर्ष कार्यकाल पूरा नगरेको तथ्यलाई औंल्याउँदै यस समस्याको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए।

महामन्त्री शर्माले लोकप्रिय मत प्राप्त गर्ने दलको नेतालाई पाँच वर्षसम्म काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे। कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुनुपर्ने विचार राखे पनि तत्काल नेपालको सन्दर्भमा त्यस्तो व्यवस्था आवश्यक नरहेको उनको भनाइ थियो। उनले संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाको प्रस्ताव नगर्ने स्पष्ट पारे। शर्माले लोकप्रिय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा रहने व्यवस्था संविधानमै उल्लेख हुनुपर्ने सुझाव दिए। साथै, सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था गर्न सकिने उनको भनाइ थियो। कांग्रेस र नेकपा (एमाले) संविधान संशोधन गर्न सहमत भएरै वर्तमान सत्ता समीकरण बनेको उल्लेख गर्दै उनले दुवै दलले एउटा व्यक्ति कतिपटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने भन्ने विषयमा पनि संविधानमै व्यवस्था गर्न छलफल थाल्नुपर्ने बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0