काठमाडौं, पुस २२ । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिनासम्म तराई–मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने भएको छ। आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो जानकारी गराएका हुन्। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार हुलाकी राजमार्गलाई केन्द्रित गरी पहिलो चरणको अभियान सञ्चालन हुनेछ भने त्यसलगत्तै पूर्व–पश्चिम राजमार्गलाई आधार बनाएर अर्को चरणको अभियान चलाइनेछ। उपत्यकामा पनि विशेष अभियान सञ्चालन गरिने बताइएको छ।
बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई थप सक्रिय बनाउने निर्णय भएको छ। वैज्ञानिक समाजवादलाई स्वीकार गर्ने दलहरूसँग एकताका लागि पहल गर्ने प्रस्ताव पनि बैठकमा पारित भएको छ। जसअनुसार नेकपा (विप्लव), नेकपा (बहुमत), एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल आम पार्टीसँग एकताका लागि छलफल अघि बढाइनेछ। महिला, दलित र मुस्लिम समुदायलाई विशेष अधिकार दिने विषयलाई निरन्तरता दिँदै महिला अधिकारलाई ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्याउन पहल गरिने भएको छ। बैठकमा प्रदेश अध्यक्षहरूले पार्टी प्रवेशको लहर चलेको र देशव्यापी रूपमा सञ्चालित खबरदारी सभा प्रभावकारी भएको जानकारी गराएका थिए।































