काठमाडौं, २८ पुस। त्रिभुवन विश्वविद्यालयले स्नातक तहका विद्यार्थी भर्नामा रोक लगाएको छ। शैक्षिक क्यालेन्डर अनुसार भर्ना समय सीमा समाप्त भएको भन्दै शिक्षाध्यक्षको कार्यालयले सबै डीन कार्यालयहरूलाई थप विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो। यस निर्णयसँगै देशभरका क्याम्पसहरूले नयाँ विद्यार्थी भर्ना प्रक्रिया रोक्न बाध्य भएका छन्।

शिक्षाध्यक्षको कार्यालयको निर्देशनलाई त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले तीव्र विरोध गरेको छ। स्ववियु सभापति श्यामराज ओझाले भर्ना रोक्ने निर्णय आश्चर्यजनक भएको भन्दै देशभरबाट विद्यार्थी र क्याम्पस प्रमुखहरूको गुनासो आएको बताएका छन्। उनका अनुसार, युवाहरू विदेशिने क्रम बढिरहेका बेला भर्ना प्रक्रिया रोक्नुले विद्यार्थीहरूको उच्च शिक्षा प्राप्त गर्ने अवसर सीमित हुने जोखिम छ।

ओझाले विगतमा रजिस्ट्रेसन खुलेपछि मात्रै भर्ना प्रक्रिया अघि बढाउने परम्परा रहेको तर यस पटक प्रक्रिया पूर्णरूपमा रोक्न निर्देशन आएको आरोप लगाए। उनले भर्ना प्रक्रियाको समय अवधि तोकेर मात्र निर्णय गर्नुपर्ने धारणा राखे।

त्रिविले यही वर्षको फागुन १५ गते स्ववियु निर्वाचन गर्ने तयारी गरिरहेको छ। स्ववियु निर्वाचनलाई विद्यार्थी संगठनहरूले आफ्नो प्रभाव र प्रतिष्ठाको विषय बनाउँदै आएका छन्। भर्ना रोकिएपछि संगठनहरूले धेरै विद्यार्थीलाई भर्ना गरेर निर्वाचन आफ्नो पक्षमा पार्ने रणनीतिमा अवरोध भएको भन्दै असन्तुष्टि जनाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0