पोखरा, २८ पुस। कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ सिक्लेसमा माघ १ देखि ४ गतेसम्म माघे सक्रान्ति मेला आयोजना हुने भएको छ। सिक्लेस युवा क्लबले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा ग्रामिण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हो।
आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष भोलामान गुरुङले मेलाको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए। उनले गुरुङ समुदायको परम्परागत सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गर्न मेलाले सघाउने बताए। सिक्लेसमा म्हउदु र फैमक्युफीका तीर्थयात्रासँगै मेलाले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
मेलामा विभिन्न प्रतियोगिताहरू राखिएका छन्। खुला पुरुष भलिबल र बास्केटबल प्रतियोगिताको विजेताले एक–एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने उपविजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खुला महिला भलिबलमा विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। गुरुङ भाषा नृत्य प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने टोलीलाई ६० हजार, दोस्रोलाई ४५ हजार र तेस्रोलाई ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
छेलो खेलका विजेताले ४५ हजार र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सिक्लेस पोखराबाट ४० किलोमिटरको दुरीमा अवस्थित छ। गाउँमा सुविधा सम्पन्न होमस्टे र होटलहरू उपलब्ध भएकाले पर्यटकहरूलाई सहज हुने अपेक्षा गरिएको छ।




























