पोखरा, २ माघ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा उथलपुथलको सम्भावना रहेको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको विपक्षी दलहरूको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय परिस्थितिका प्रभावहरूलाई गम्भीरताका साथ लिनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष नेपालले बंगलादेश, दक्षिण कोरिया, श्रीलंका लगायतका देशहरूमा देखिएको असन्तुष्टि नेपालमा पनि विस्तारै बढ्दै गएको उल्लेख गरे। उनले यस्ता असन्तोषले मुलुकलाई अस्थिरतातर्फ लैजान सक्ने चेतावनी दिएका छन्। “असन्तुष्टि भित्रभित्रै चरम रूपमा बढिरहेको छ। यसलाई राजनीतिक रूपमा समाधान गर्न विपक्षी दलहरू एकजुट हुनुपर्छ,” उनले भने।
नेपालले संविधान संशोधन, धार्मिक गतिविधि, र शासकीय स्वरूपका विषयहरूमा विशेष ध्यान दिनुपर्ने बताए। उनले यी मुद्दाहरूलाई एउटै डालोमा हालेर मुलुकलाई अर्को बाटोमा लाने प्रयास हुन सक्ने सम्भावनाबारे चिन्ता व्यक्त गरे। यस्ता प्रयासहरू रोक्न विपक्षी मोर्चालाई बलियो बनाउनुपर्ने उनको धारणा थियो।
उनले साना दलहरूलाई विपक्षी मोर्चामा समेट्ने प्रयासका विषयमा समेत चर्चा गरे। “विपक्षीहरूको एकताले मात्र देशलाई अर्को अप्ठेरो परिस्थितिबाट जोगाउन सक्छ,” नेपालले थपे।































