पोखरा, ४ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा ४३ विद्यार्थी दीक्षित भएका छन्। कार्यक्रममा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले दीक्षान्त प्रदान गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधुनिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री ओलीले “सर्वे भवन्तु सुखिनः” लाई समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यसँग जोड्दै प्रतिष्ठानका उपलब्धिहरूको प्रशंसा गरे। उनले पोखरामा भएको १४ सफल मिर्गौला प्रत्यारोपणलाई प्रतिष्ठानको दक्षता र क्षमताको प्रमाण भएको उल्लेख गरे। ओलीले नेपाललाई आर्थिक र सामाजिक विकासमा तीव्र गतिमा अघि बढाउन सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोग महत्वपूर्ण हुने बताए।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको उन्नयन सरकारको प्राथमिकतामा रहेको बताए। स्वीडेनका प्राध्यापक माग्नुस वेस्टग्रेनले प्रतिष्ठानका विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा पनि अब्बल बन्न सक्ने विश्वास व्यक्त गरे।

२०७२ मा स्थापना भएको प्रतिष्ठानले हाल ७ विषयमा स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ। एमबिबिएस कार्यक्रम पनि सुरु गरेको प्रतिष्ठानले नवीन प्रविधिको उपयोग गर्दै देशभर स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्याइरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0