पोखरा, ७ माघ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा भएको हातपात प्रकरणमा पक्राउ परेकामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रहेको खुलेको छ। पक्राउ परेकामध्ये हुम्लाको अदानचुली गाउँपालिका–४ का महानन्द जैसी, जसले आफूलाई महानन्द पाण्डे पनि बताउने गरेका छन्, रास्वपाका विशेष कार्यकर्ता भएको पुष्टि भएको हो।

जैसीलाई प्रहरीले टोखा नगरपालिका–३ बाट शनिबार पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखेको छ। त्रिपाठीमाथिको हातपातपछि पक्राउ परेकामध्ये झापाकी शीतादेवी राई र ललितपुरका ललितकुमार केसी पनि रहेका छन्। तीनैजनाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

महानन्द जैसी, जो रास्वपाका सभापति रवि लामिछाने निकटका कार्यकर्ता मानिन्छन्, पार्टीको संगठन विस्तारका क्रममा हुम्ला जिल्लामा सक्रिय भएका थिए। उनी रास्वपाका आधिकारिक जिल्ला उपसभापति नभए पनि संगठन विस्तारका क्रममा स्थानीय युवाले बनाएको अस्थायी समितिमा उपसभापति तोकिएका थिए। तर, रविको प्रतिरक्षामा त्रिपाठीमाथि भएको घटनाले उनी रवि निकट फ्यानका रूपमा चिनिन पुगेका छन्।

यसैबीच, पक्राउ परेका जैसीले फेसबुकमा घटनापछि विरोधका रुपमा लेख्दै हातपात गर्नु गलत भएको टिप्पणी गरेका थिए। घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जैसीले अनुसन्धानलाई प्रभावित पार्न यस किसिमको प्रवृत्ति अपनाएको हुनसक्ने बताएका छन्।

त्रिपाठीमाथि कुटपिट गर्न उत्रिएका जैसीले अचम्मको इतिहास पनि बोकेका छन्। उनी २०८० वैशाखमा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट रविविरुद्ध उम्मेदवारी दिएका थिए। उक्त चुनावमा उनले जम्मा १८ मत मात्र ल्याएका थिए। त्यसपछि रविको जनलहर देखेर रास्वपामा प्रवेश गरेका जैसीले रविलाई आफ्नो प्रेरणाको स्रोत बताउँदै आएका छन्।

त्रिपाठीमाथि हातपातमा संलग्न झापाकी सीतादेवी राई पनि रास्वपाको सक्रिय कार्यकर्ता हुन्। राईलाई रास्वपाको काठमाडौं वडा नम्बर ३२ की उपसभापति भएको आशंका गरिएको छ। तर, औपचारिक रूपमा यसबारे पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।

रास्वपाका एक नेताका अनुसार जैसी रविसँग प्रत्यक्ष पहुँच राख्ने कार्यकर्ता हुन्। काठमाडौंस्थित पार्टी कार्यालयमा उनको सक्रियता देखिँदै आएको थियो। काठमाडौँ जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीविरुद्ध कुटपिट गर्न उत्रिएका उनी रास्वपाको रविप्रतिको समर्पण देखाउने कार्यका रूपमा आलोचित बनेका छन्।

पक्राउ परेका तीनैजनाविरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यस घटनाले राजनीतिक दलका समर्थकहरूको कट्टर प्रवृत्तिको उदाहरण प्रस्तुत गरेको भन्दै आलोचना भइरहेको छ। अधिवक्ता त्रिपाठीले यस घटनाको निष्पक्ष छानबिन र कानूनी कारबाहीको माग गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0