काठमाडौं, ७ माघ। काठमाडौंको तारकेश्वर नगरपालिकामा फोहर व्यवस्थापनको विषयलाई लिएर नगर प्रमुख कृष्णहरि महर्जन र वडा नम्बर ५ का अध्यक्ष शम्भुप्रसाद फुयालबीच विवाद उत्पन्न भएको छ। फुयालले फोहरमैला व्यवस्थापनमा संकलित रकमको पारदर्शिता नभएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि दुई जनप्रतिनिधिबीच भनाभन भएको हो।
वडाध्यक्ष फुयालले तारकेश्वर नगरपालिकामा फोहरको नाममा वार्षिक ७ करोड रुपैयाँ संकलन हुने तर त्यसको कुनै पारदर्शी लेखाजोखा नगरिएको आरोप लगाउँदै फेसबुकमा पोस्ट गरेका थिए। यसै पोस्टले नगर प्रमुख महर्जनको ध्यानाकर्षण गराउँदै उनले फुयाललाई तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेका थिए।
फुयालले सोमबार नगरपालिकालाई स्पष्टीकरण पत्र बुझाउँदै आफूले जनप्रतिनिधिका हैसियतले नगरपालिकाभित्रको थिति र बेथिति उजागर गरेको स्पष्ट पारेका छन्। उनले फोहर संकलनका लागि कार्यरत निजी कम्पनीहरूले वैधानिक अनुमति नलिएको विषयमा पटकपटक प्रश्न उठाए पनि समाधान नभएकाले आम नगरबासीलाई जानकारी गराउनुपर्ने आवश्यकता महसुस भएको बताएका छन्।
तारकेश्वर नगरपालिकाका ४१ हजार घरधुरीबाट प्रतिमहिना झन्डै सवा करोड रुपैयाँ संकलन हुने तर सो रकम नगरपालिकाको लाभका लागि प्रयोग नभएको फुयालले उल्लेख गरेका छन्। उनले पारदर्शिता र सुशासन सुनिश्चित गर्न फोहर संकलनका लागि खुला प्रतिस्पर्धाको आधारमा प्रक्रिया थाल्नुपर्ने माग गरेका छन्।

महर्जन र फुयाल दुबै नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। मेयर महर्जन कांग्रेस नेता भीमसेनदास प्रधाननिकट मानिन्छन् भने वडाध्यक्ष फुयाल कांग्रेस जिल्ला सभापति सबुज बानियाँनिकट हुन्। उनीहरूको विवादले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच समन्वयको अभाव देखाएको विश्लेषण गरिएको छ।































