पोखरा, १५ माघ । सत्तापक्षीय दलहरूले आवश्यकताका आधारमा जारी गरिएका अध्यादेशमाथि एकमत भएका छन्। आज आयोजित बैठकमा सत्तापक्षका शीर्ष नेताहरूले आगामी संसद् अधिवेशनमा प्रतिस्थापन विधेयक ल्याएर पारित गर्ने निष्कर्ष निकालेका छन्।

संसदको हिउँदे अधिवेशनमा सरकारका कामको प्रभावकारिता र सत्तापक्षको तयारीबारे छलफल गर्न आयोजित बैठकमा सत्तापक्षका नेता महेश बर्तौलाले जानकारी दिँदै भने, “सत्तापक्षको विचारमा संसद बैठकमा सशक्त, प्रभावकारी र रचनात्मक रूपमा समान धारणका साथ प्रस्तुत हुने निर्णय गरिएको छ।” उनले थपे, “प्रधानमन्त्री ओली र सभापति देउवालगायत शीर्ष नेतृत्वसँग थप छलफल गर्ने योजना छ।”

बैठकमा यो निष्कर्ष निकालेको छ कि सत्तारुट गठबन्धन एकजुट भएर संसदमा प्रस्तुत हुनेछ। “असन्तुष्टिका स्वरहरू भए सम्बन्धित पार्टीमा छलफल गर्ने तर सदनमा सत्तापक्ष एकजुट हुने निर्णय भएको छ,” एक नेताले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुुवाटारमा भएको बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक रहेका अध्यादेशलाई संसदको पहिलो दिनमै पेस गर्ने निर्णय गरेको छ। साथै, छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गरिने कुरा पनि बैठकमा छलफल भएको छ।

यस बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा अन्य दलका संसदीय दलका प्रमुख सचेतकहरूको उपस्थिति रहेको थियो।

सङ्घीय संसदको हिउँदे अधिवेशन आगामी माघ १८ गतेदेखि प्रारम्भ हुँदैछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0