पोखरा, १६ माघ । सशस्त्र प्रहरी बल (एपिएफ) एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला भलिबल प्रतियोगिताको पहिलो क्वालिफायरमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई सोझो ३–० को सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्न सफल भयो।
एपिएफले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै पहिलो सेट २५–७ ले सहजै जित्यो। दोस्रो सेटमा केही प्रतिस्पर्धात्मक देखिए पनि एपिएफले २५–१७ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा भने टाइगर ग्रुपले सशक्त पुनरागमन गर्दै ११–१६ को अग्रता बनाएको थियो। खेल रोमाञ्चक मोडमा पुग्दै १८–१७ को अवस्थामा पुगे पनि अन्ततः एपिएफले उत्कृष्ट प्रदर्शन गर्दै २५–२० को जित निकाल्न सफल भयो।
समूह चरणको उपविजेता बनेको टाइगर ग्रुपले पहिलो क्वालिफायरमा पुनः एपिएफसँग नै भिड्नुपर्ने भएको छ। बिहीबार हुने सो खेलमा टाइगरले एपिएफविरुद्ध पुनरागमन गर्ने अवसर प्राप्त गर्नेछ।
यसअघि भएको अर्को खेलमा थाइल्यान्डको ट्राभल इन्क्वारी प्यासन भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित निकालेको छ।
अब प्रतियोगिताको पुरुषतर्फका खेलहरू सुरु हुनेछन्। पहिलो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफ भिड्नेछन्। चौथो तथा अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबीचको खेल बिहीबार खेलाइने आयोजकले जनाएको छ।





























