पोखरा, १६ माघ । पोखरा महानगरपालिका–२८, माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयमा बिहीबार निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। माझठाना पोखरा सम्पर्क समाजको आयोजनामा, वडा कार्यालय २८ को समन्वयमा तथा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, हिमालय आँखा अस्पताल लगायतका संस्थाहरूको सहयोगमा शिविर हुन लागेको हो।

शिविरमा पेट, छाती तथा मुटु रोग विशेषज्ञ डा. चन्द्रबहादुर पुन, मानसिक रोग विशेषज्ञ प्राडा. निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा. गणेश विक, भिडियो एक्सरे डा. पुजन शर्मा लगायत अनुभवी विशेषज्ञ चिकित्सकहरूले निःशुल्क स्वास्थ्य जाँच गर्नेछन्। समाजका अध्यक्ष भोलानाथ ओझाका अनुसार हिमालय आँखा अस्पतालका वरिष्ठ चिकित्सकहरू तथा पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरका चिकित्सकहरू पनि शिविरमा सहभागी हुनेछन्।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, मधुमेह तथा फोक्सो परीक्षण, एआई प्रविधिको प्रयोगमा आधारित एक्स-रे सेवा समेत उपलब्ध हुने छ। साथै, बिरामीहरूलाई आवश्यक निःशुल्क औषधि वितरण गरिने कार्यक्रम संयोजक तिवारीले जानकारी दिए।

शिविर सफल बनाउन विजी हस्पिटल एण्ड रिसर्च सेन्टर, भिडियो एक्सरे पुजन शर्मा, पार्कल्याण्ड हस्पिटल लगायतका संस्थाहरू तथा समाजका सल्लाहकार, कार्यसमिति सदस्य र आजीवन सदस्यहरूले आर्थिक सहयोग गरेका छन्। गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाबाट प्राप्त औषधिसहित समाजले करिब १ लाख ३० हजार बराबरको औषधि खरीद गरेको बताइएको छ।

समाजका अध्यक्ष ओझाले सम्पूर्ण माझठानाबासीलाई शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिन आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0