पोखरा, १८ माघ । पश्चिम नवलपरासीमा लागूऔषध नियन्त्रण गर्ने क्रममा प्रहरीले चार राउन्ड गोली प्रहार गरेको छ। घटनामा रामग्राम नगरपालिका–१२ पचगाँवा निवासी राजेश लोनिया घाइते भएका छन्। लोनियाको घरमा लागूऔषध रहेको सूचना पाएपछि प्रहरीको टोलीले खानतलासी गर्ने क्रममा गोली चलाउनु परेको हो।

प्रहरीका अनुसार बिहीबार राति ८ बजे लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको नेतृत्वमा पाँच जनाको टोली लोनियाको घर पुगेको थियो। प्रहरीले परिचय दिएर खानतलासी गर्न खोज्दा लोनियाले प्रतिकार गर्दै भाग्ने प्रयास गरेका थिए। तनावपूर्ण स्थितिमा उनीमाथि गोली चलाउनु परेपछि उनको बायाँ खुट्टामा एक राउन्ड गोली लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

घाइते लोनियालाई पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि लगिएको छ। उनको अवस्था अहिले सामान्य रहेको छ। घटनास्थलबाट प्रहरीले ९३ पुरिया ब्राउनसुगरजस्तो देखिने लागूऔषध बरामद गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा अर्को एक व्यक्ति फरार भएका छन्। प्रहरीले फरार व्यक्तिको खोजी कार्य तीव्र बनाएको जनाएको छ। लागूऔषध बिक्री तथा वितरणको गिरोहलाई नियन्त्रणमा लिने प्रयास भइरहेका बेला यस्तो घटना भएको प्रहरीले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0