पोखरा, २३ माघ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहँदा मौसममा आंशिक बदली देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। तर, तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेकाले जनजीवन प्रभावित बनेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुनसक्ने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ। विशेष गरी बिहान तराई तथा उपत्यकाका केही भागमा बाक्लो हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात, स्वास्थ्य तथा हवाई उडानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ६ बजेर ४८ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४८ मिनेटमा हुनेछ।




























