पोखरा, २७ माघ । पोखरामा बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजको नेतृत्वमा हुने भनिएको कोटीहोम महायज्ञलाई लिएर विवाद चुलिएको छ। चौताराका बरपिपल र ऐतिहासिक वृक्षहरू गैरकानुनी रूपमा कटान गरिएको भन्दै स्थानीयवासी र पोखरा महानगरपालिकाले विरोध जनाएका छन्। वातावरणीय क्षति, धार्मिक विवाद र सरकारी स्वीकृतिबिना आयोजना गर्न खोजिएको महायज्ञबारे बहस भइरहेको छ।

महायज्ञको तयारीका क्रममा पोखरा महानगरपालिका-१४ स्थित विभिन्न चौताराका ९ वटा बरपिपल नपलाउने गरी ठुटै बनाइएको छ। महानगरका अनुसार, सहरका विभिन्न वडाका ३३ वटा पुराना रुखसमेत काटिएका छन्। यी सबै रुख सय वर्षभन्दा पुराना रहेको बताइएको छ। रुख काटिएको स्थानमा वृक्षरोपण गरिने भन्दै आयोजक पक्षले गल्ती स्वीकारे पनि स्थानीयहरूले वातावरणीय क्षतिप्रति असन्तुष्टि जनाएका छन्।

महायज्ञका लागि वृक्ष कटान र विरोध

यसअघि आयोजक विजय भण्डारी (बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराज) ले वृक्ष कटानका लागि पोखरा महानगरलाई दोषारोपण गर्दै आएका थिए। तर, आइतबार पत्रकार सम्मेलन गर्दै उनले केही कमजोरी भएको स्वीकार गरे। उनले रुख काटिएको स्थानमा नयाँ वृक्षारोपण गर्ने प्रतिवद्धता जनाए।

महायज्ञ आयोजनाका लागि अनुमति लिइएको प्रमाण देखाउँदै आयोजक पक्षले कार्यक्रम हुने दाबी गरिरहेका छन्। नेपाल ट्रस्टले वैशाख १७ देखि जेठ २६ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमका लागि पोखराको लेकसाइडस्थित जग्गा भाडामा दिएको छ। मानव सेवा फाउन्डेसनले ट्रस्टलाई ११ लाख ५९ हजार रुपैयाँ बुझाएर जग्गा लिएको बताइएको छ।

No description available.

महानगरको रोक, आयोजकको अडान

पोखरा महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकमार्फत मानव सेवा फाउण्डेसनलाई कोटीहोम आयोजना गर्न अनुमति नदिने निर्णय गरेको छ। पर्यटकीय सिजन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल ट्रस्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न समेत पत्र पठाइसकेको छ।

महानगरका अनुसार, लेकसाइडको कोटीहोम स्थल विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनारमा रहेको छ। त्यहाँ हुने भीडभाडले पर्यटकीय गतिविधिमा असर गर्ने भन्दै महानगरले स्वीकृति नदिने जनाएको छ। यद्यपि, आयोजक पक्ष भने महायज्ञ कुनै पनि हालतमा सम्पन्न गराउने अडानमा छन्।

बालयोगेश्वर विजय कृष्णमूर्तिजी महाराजले आइतबार पत्रकार सम्मेलन गर्दै भने, “अब कोटीहोम नगरी यहाँबाट कुनै हालतमा फर्किन्न। धर्मको रक्षाका लागि अधर्म गर्न परे पनि तयार छु।”

रुख कटानको कानुनी कारबाही माग

चौताराका ऐतिहासिक बरपिपल र समीका वृक्ष काटिएपछि स्थानीयबासी आक्रोशित बनेका छन्। पोखरा पर्यटन परिषदले समेत वृक्ष कटानको विरोध गर्दै यसको कारबाही गर्न माग गरेको छ।

पोखरा महानगरपालिकाले मानव सेवा फाउण्डेसनविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय लिएको छ। रुख कटान गैरकानुनी भएकाले डिभिजन वन कार्यालय कास्कीलाई कारबाहीका लागि पत्राचार गरिसकेको छ। महानगरले नगर क्षेत्रमा कुनै पनि धार्मिक वा सांस्कृतिक कार्यक्रम गर्नुअघि पूर्वस्वीकृति लिनुपर्ने नियम लागू गर्ने जनाएको छ।

No description available.

स्थानीयको आक्रोश र आगामी रणनीति

पोखराका बासिन्दाले महायज्ञका लागि वृक्ष कटानलाई अस्वीकार्य ठहर गर्दै महानगरको निर्णयको स्वागत गरेका छन्। स्थानीयले पर्यावरणीय क्षति व्यर्थै भइसकेको बताउँदै क्षतिपूर्ति स्वरूप वृक्षारोपण गर्नुपर्ने माग राखेका छन्।

यसैबीच, पोखरा महानगरपालिकाले धार्मिक, सांस्कृतिक वा कुनै पनि ठूला कार्यक्रम आयोजना गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान कडाइका साथ लागू गर्ने तयारी गरेको छ। पोखराको पर्यटन, पर्यावरण र कानुनी व्यवस्थालाई ध्यानमा राख्दै स्वीकृतिविना महायज्ञ नहुने स्पष्ट संकेत दिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0