पोखरा, ७ फागुन। प्रतिनिधिसभाबाट विद्युतीय (ई-कमर्स) व्यापार विधेयक सर्वसम्मत रूपमा पारित भएको छ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि मंगलबार प्रतिनिधिसभामा पनि स्वीकृत गरिएको हो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले २०८० साल १२ असारमा यो विधेयक दर्ता गरेका थिए।
प्रतिनिधिसभा सदस्य लालप्रसाद सावा लिम्बुले जानकारी गराउँदै भनेका छन् कि ई-कमर्सले संसारभरि १५ लाख ३२ हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी दिएको छ। उनले उदाहरणका रूपमा अलिबाबा कम्पनीलाई प्रस्तुत गर्दै भने, “अलिबाबा कम्पनीले आफ्नो उत्पादनलाई संसारभर पुर्याउन ई-विजनेशमार्फत प्रोत्साहन गरेको छ र हाल २ लाख १५ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको छ।”
सांसद लिम्बुका अनुसार वर्तमानमा संसारभरिको खुद्रा व्यापारमा ई-कमर्सले २० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ। ई-कमर्सको विकासले उपभोक्ताहरू ठगिने, डाटा चोरी हुने र आपूर्ति शृंखलामा समस्या देखा पर्ने अवस्थालाई पनि ध्यानमा राख्दै यो विधेयक आवश्यक भएको बताए।
अब यो विधेयक पुनः राष्ट्रिय सभामा जान्छ र यदि राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट गरिएको संशोधन स्वीकार गरेमा राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि जान्छ।































