पोखरा, १२ फागुन। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहे पनि अन्य भूभागमा आंशिक बदलीका साथै मौसम सफा रहने महाशाखाले जनाएको छ।
कोशी प्रदेश र बागमती प्रदेशका केही पहाडी स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। साथै, यी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि मौसम परिवर्तनशील रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना छ। राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ।




























