पोखरा, १६ फागुन। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले देशभर मौसममा परिवर्तन आएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने अन्य भागमा आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका केही तराई भेगमा पनि हल्का वर्षा हुन सक्नेछ।
गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। महाशाखाले विशेषगरी उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको प्रभावले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली तथा देशका अन्य पहाडी भागमा साधारणदेखि पूर्ण बदली रहनेछ। यी क्षेत्रका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तराई भेगमा पनि हल्का वर्षाको सम्भावना छ।
आगामी २४ घण्टामा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा व्यापक वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली भागहरूमा हिमपातका कारण यातायात, हवाई उडान, कृषि र स्वास्थ्य क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।




























