काठमाडौँ, २० फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र विकासका लागि सरकारले अध्यादेश ल्याएकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको २७औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले देशको हितमा अध्यादेश आएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने र सरकारले त्यो काम गरिरहेको बताउँदै सबै सरोकारवालाले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो। संस्थानमा राजनीतिकरण व्याप्त रहेकाले प्रगति गर्न नसकिरहेको बताउँदै उहाँले अति राजनीतिकरणका कारण द्वन्द्व र अराजकता बढेको र यसले आन्तरिक लोकतन्त्रलाई समेत समस्या पारिरहेको बताउनुभयो।

मुलुकबाट राजतन्त्र र सामन्तवाद अन्त्य भए पनि संरचना र ऐन नियम पुरानै भएकाले त्यसको छायाँ अझै कायम रहेको बताउँदै नयाँ ऐन र विनियमावली बनाएर संस्थानलाई सबल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। सबैले इमानपूर्वक काम गरे देश बनाउन कठिन नहुने उहाँको भनाइ छ।

सबै क्षेत्रमा राजनीतिकरणले गाँजेकाले विकृति निम्तिरहेको भन्दै उहाँले जिम्मेवारीलाई इमान्दारितापूर्वक पालना गरे मात्र समस्या समाधान हुने बताउनुभयो। पदको दुरुपयोग गर्ने काम कसैले गर्न नहुने उहाँको भनाइ छ। नेपाल दूरसञ्चार प्राधिकरणलाई अझ सबल र प्रतिस्पर्धी बनाउनेगरी काम गर्न उहाँले पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभयो।

विनियमावलीको राज चलिरहेको भन्दै उहाँले ऐनअनुसार विनियमावली बन्नुपर्ने र कानुनसँग बाझेर विनियमावली बनाउने छुट नरहेको बताउनुभयो। ऐन प्रक्रियाअनुसार काम गर्न उहाँले मातहतका निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो।

असल शासनका लागि असल जनशक्ति अनिवार्य रहेको चर्चा गर्दै उहाँले असल मन्त्री, पदाधिकारी, कर्मचारी र इमान्दार जनशक्तिको खाँचो पर्ने बताउनुभयो। अनावश्यक विदेश भ्रमण रोक्न आवश्यक रहेको चर्चा गर्दै उहाँले अनावश्यक खर्चभारले देशको अर्थतन्त्र थला पर्ने भन्दै अनावश्यक विदेश भ्रमणमा नलाग्न मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0