पोखरा, २५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै उनलाई कुर्सीमा राख्दैमा शासक नबन्ने टिप्पणी गरेका छन्। आइतबार सुदूरपश्चिम प्रदेशसभामा विशेष सम्बोधन गर्दै उनले पूर्वराजाको समर्थनमा काठमाडौंमा भएको प्रदर्शनप्रति व्यंग्य गरे।
ओलीले प्रदर्शनबारे प्रश्न गर्दै भने, “पूर्वराजालाई लगेर सिंहासनमा बसाउने भन्ने के कुरा हो? कुनै कुर्सीमा राख्दैमा शासक हुन्छ मान्छे? मानिदिन परेन?” उनले गणतन्त्रको अवस्थालाई प्रष्ट्याउँदै राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाबारे पूर्वराजालाई सोधे, “राष्ट्रपति पौडेलजीलाई के गर्नुहुन्छ, उहाँ एउटा कुर्सीमा बसेपछि? यो देशमा निर्वाचित राष्ट्रपति हुनुहुन्छ। चुनेको राष्ट्रपति के गर्नुहुन्छ?”
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रक्रियामार्फत बनेको सरकार बलियो रहेको र संविधान अनुसार अघि बढ्ने बताए। “म अत्यधिक बहुमतले निर्वाचित प्रधानमन्त्री हुँ। मैले बनाएको दुई दलको सहमति भएको मजबुत सरकार छ। हामी कुनै बलमिच्याइँ गर्दैनौँ, विधिको कुरा गर्छौं,” उनले भने।
देश अस्थिरतातर्फ फर्काउने प्रयास भइरहेको दाबी गर्दै ओलीले त्यसलाई रोकिने बताए। “भावनामा बगेर देश बन्दैन। अहिले फेरि अस्थिरता ल्याउने खेल सुरु भएको छ, तर हामी त्यसलाई सम्बोधन गर्छौं,” उनले भने। प्रमुख राजनीतिक दलका नेताहरूले प्रतिगमनतर्फ मुलुक जान नदिएको भन्दै उनले आभार व्यक्त गरे।
अर्को सन्दर्भमा ओलीले आफूले १६ महिना सरकार चलाएर त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने योजना सुनाए।































