पोखरा, २६ फागुन। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्म सडक क्षेत्रमा राजावादीहरू भेला भएका थिए। हजारौँ संख्यामा उपस्थित भिडका कारण सार्वजनिक स्थान फोहोर भएको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ।
महानगरले आइतबार साँझ पठाएको पत्रमा त्रिभुवन विमानस्थल, तिलगंगा, गौशला लगायतका सार्वजनिक स्थानमा फोहोर गरिएको, बगैंचाका फूल कुल्चिएको र भौतिक संरचनामा क्षति पुगेको उल्लेख गरिएको छ। तर, जरिवानाको पत्र राप्रपालाई मात्रै थमाइएकाले यसको निष्पक्षता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ।
पूर्वराजाको स्वागतका क्रममा राप्रपा, राप्रपा नेपाल, व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूह, संस्कृतिविद् डा. जगमान गरुङ नेतृत्वको समूह, पूर्वमन्त्री डा. केशवबहादुर विष्ट नेतृत्वको समूह, अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल लगायतका समूह सहभागी थिए। तर, महानगरले राप्रपालाई मात्रै कारबाही गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
महानगरले कार्यक्रमको अनुमति राप्रपाले मात्रै मागेकाले सोही आधारमा जरिवाना गराइएको जनाएको छ। मेयर बालेन्द्र शाह (बालेन)का प्रेस संयोजक राजेन्द्र बजगाईंले भने, “राप्रपाले पूर्वराजाको स्वागतका लागि अनुमति मागेकाले उसैलाई जरिवाना गरिएको हो।”
यसअघि पनि महानगरले राप्रपालाई २५ हजार जरिवाना गराएको थियो, जसलाई पार्टीले तिरेको थियो। एमालेले आयोजना गरेको कार्यक्रममा पनि फोहोर भएको भन्दै एक लाख जरिवाना तोकिएको थियो। तर, एमालेले अहिलेसम्म जरिवाना नतिरेको महानगरले जनाएको छ।

राप्रपाले भने यसपटकको जरिवाना १४ घण्टा नबित्दै बुझाइसकेको छ। तर, सोही कार्यक्रममा सहभागी अन्य समूहहरूलाई कारबाही नगरिनुले महानगरको कदममाथि प्रश्न उठाइएको छ।




























