काठमाडौं, १५ चैत्र। समाजवादी मोर्चा नेपालका एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतालाई ‘पैतलामुनी धुलो’ जस्तो नमान्ने शासकको खाँचो नभएको बताएका छन्। उनले शुक्रबार प्रदर्शनी मार्गमा आयोजित जनसभामा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै जनताको सम्मान नगर्ने शासकहरूको खाँचो नहुने कुरा उठाएका हुन्।
विप्लवले भने, “हामी यो मैदानबाट चुनौती दिन चाहन्छौँ र भन्न चाहन्छौँ हामीलाई प्रभुहरूको खाँचो छैन। हामीलाई महासामन्तहरूको खाँचो छैन। हामीलाई सामन्ती तत्त्वहरूको खाँचो छैन। हामीलाई पैतलामुनी जनतालाई धुलोसरी पनि नटेर्ने, सामन्तवादी हैकम चलाउने प्रवृत्तिहरूको हामीलाई खाँचो छैन। शासकहरूको हामीलाई खाँचो छैन।”
उनले मुलुक गणतन्त्रमा पुगेपछि नेपाली जनताको सबै चाहना पूरा नभएको भए पनि गणतन्त्रमा जनताले गर्व गर्ने बताए। “हामी गणतन्त्रसम्म आएका छौँ, नेपाली जनताका सबै चाहना सम्बोधन भएका छैनन्, हामीलाई राम्रोसँग थाहा छ, तर हामीलाई यो पनि थाहा छ कि नेपाली जनताहरू गणतन्त्रसँग गौरव गर्छन्,” विप्लवले भने।
विप्लवले अब गणतन्त्रबाट पछि फर्किन नसकिने कुरा पनि स्पष्ट गरे। उनले भने, “गणतन्त्रबाट पछि फर्किने होइन, केही मान्छेहरूले केही तत्त्वहरूले अहिले फेरि गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन्। राजतन्त्र फर्काउने कुरा गरेका छन्।”




























