पोखरा, ३१ चैत्र। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक भूमिकामा पुनः प्रवेशको सम्भावनाबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ। भण्डारी प्रदेश–प्रदेशमा दौडाहामा निस्किरहेका बेला ओलीले बुटवलमा सार्वजनिक रूपमा “केपी ओलीविनाको एमालेका लागि अझै १५/२० वर्ष पर्खिनुपर्ने” भनाइ राखेपछि विभिन्न कोणबाट त्यसको व्याख्या हुन थालेको छ।

भण्डारीले गण्डकी, कोशी हुँदै लुम्बिनीसम्मको दौडाहापछि काठमाडौं फर्किएर राजनीतिक चर्चा तीव्र बनाएकी छन्। एमाले राजनीतिमा पुनः फर्कनु भण्डारीको आकांक्षा भएको चर्चा चलिरहेका बेला ओलीले दिएको उक्त अभिव्यक्तिलाई प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा भण्डारीतिर लक्षित भएको मानिएको छ। पार्टीका वरिष्ठ नेताहरूले भण्डारी र ओलीबीच निरन्तर संवाद भइरहेको जनाउँदै, राजनीतिक सहमतिको आधारमा भण्डारीको प्रवेश सम्भव हुने बताएका छन्।

नेता कर्ण थापा र विष्णु रिजालले ओलीले दिएको अभिव्यक्तिको गलत अर्थ नलगाउन सुझाव दिएका छन्। उनीहरूका अनुसार भण्डारी पार्टीमा फर्किन चाहे अध्यक्ष ओलीकै सहमतिमा मात्र हुनेछ। ओलीको १५/२० वर्ष पर्खिनुपर्ने भनाइ पार्टीभित्रका आकांक्षीहरू नभई एमालेलाई घेराबन्दी गर्नेहरूतर्फ लक्षित रहेको उनीहरूको दाबी छ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार भण्डारी सक्रिय राजनीतिमा फर्किनेतर्फ गम्भीर तयारीमा छिन्। उनका अनुसार ओली नेतृत्व सहजै नछाड्ने सम्भावना रहेकाले भण्डारीले दबाब सिर्जना गर्न दौडाहा थालेकी हुन्। भण्डारीको सक्रियता सहमतिमा नेतृत्व हस्तान्तरण होस् भन्ने चाहनासँगै वैकल्पिक तयारी पनि देखिएको विश्लेषकहरूको धारणा छ।

एमालेका संस्थापक नेतामध्येका एक, स्वर्गीय मदन भण्डारीकी जीवनसाथी भएकाले पनि विद्यादेवी भण्डारीको राजनीतिक प्रभाव र विरासत गहिरो छ। पार्टीको सांगठनिक अनुभव, जनसंपर्क तथा उमेरको हिसाबले पनि उनी नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्ने विश्लेषकहरू बताउँछन्।

भण्डारीको सम्भावित पुनः प्रवेशले एमाले मात्र होइन, समग्र वाम राजनीति पुनर्संयोजनको दिशातर्फ उन्मुख हुने देखिन्छ। लेफ्ट गठबन्धन निर्माणका सम्भावना र वैचारिक स्पष्टताको खोजी भइरहेको वर्तमान परिप्रेक्ष्यमा भण्डारीको भूमिकालाई महत्त्वका साथ हेरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0