पोखरा, २२ मंसिर। अमेरिकाको फ्लोरिडामा सन् २०२२ मा एक किशोरको मृत्यु भएको घटनामा अदालतले मनोरञ्जनात्मक राइडका निर्मातालाई ३१० मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ। किशोर टायर स्याम्पसन, जो १४ वर्षका थिए, ओरल्यान्डोस्थित एक थिम पार्कमा रहेको ‘ड्रप राइड’ बाट खसेर ज्यान गुमाएका थिए।

टायरको वजन १२९ किलोग्रामको सिमाभन्दा ४३ किलोग्राम बढी थियो। उक्त राइडमा सिट बेल्ट जडान गरिएको थिएन। उनले करिब ३० मिटरको उचाइबाट खस्दा गम्भीर घाइते भई अस्पतालमा निधन भएको थियो।

टायरको परिवारका वकिलले यो घटना सुरक्षा प्रणालीको असफलता र निर्माताको लापरवाहीको परिणाम भएको तर्क गरेका थिए। यद्यपि, राइड निर्माता अस्ट्रियाली कम्पनी फनटाइम हान्डल्स जीएमबीएचले अदालतमा प्रतिनिधि पठाएको थिएन र कुनै वकिलसमेत अदालतको रेकर्डमा दर्ता गरिएको थिएन।

टायर स्याम्पसन आफ्ना अमेरिकी फुटबल टोलीसँग स्प्रिङ ब्रेकको अवसरमा ओरल्यान्डोको आइकन थिम पार्क भ्रमणमा थिए। उनको निधनपछि परिवारले सन् २०२२ को मार्चमा निर्माताविरुद्ध मुद्धा दायर गरेका थिए।

अदालतले यस साता दिएको आदेशअनुसार क्षतिपूर्ति रकम टायरका आमाबाबुबीच समान रूपमा बाँडिनेछ। परिवारका वकिल बेन क्रम्पले “टायरको मृत्यु निर्माताको लापरवाही र नाफालाई प्राथमिकतामा राख्ने प्रवृत्तिका कारण भएको” बताएका छन्।

यो घटनाले फ्लोरिडामा मनोरञ्जनात्मक राइडका लागि नयाँ सुरक्षा मापदण्ड स्थापना गर्न प्रेरित गर्यो। फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले सन् २०२३ को मे महिनामा ‘टायर स्याम्पसन ऐन’ मा हस्ताक्षर गरेका थिए। यस ऐनले ३० मिटरभन्दा अग्ला राइडका लागि सिट बेल्ट र हर्नेस अनिवार्य बनाएको छ।

यसअघि, टायरका काका कार्ल स्याम्पसनले उनलाई “सजिलो स्वभावको र अत्यन्तै बौद्धिक बालक” भनेर वर्णन गरेका थिए। टायरको निधनपछि परिवारले राइडका मालिक इगल ड्रप स्लिङसट र आइकन पार्कसँग गोप्य रूपमा क्षतिपूर्ति लिएका थिए।

यो फैसला निर्माताहरूलाई आफ्ना उत्पादनहरूको सुरक्षालाई प्राथमिकतामा राख्न बाध्य बनाउने महत्त्वपूर्ण कदम भएको वकिल क्रम्पले बताएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0