राजावादी प्रदर्शनकारीद्वारा जडीबुटी उद्योगमा आगजनी

काठमाडौं, १५ चैत्र। राजधानीको कोटेश्वरस्थित एक जडीबुटी उद्योगमा राजावादी आन्दोलनकारीहरूले आगजनी गरेका छन्। बिहानैदेखि अराजक बन्दै गएको प्रदर्शनकारी समूहले उद्योगमा तोडफोड गर्दै आगो लगाएका हुन्।

आगजनीका कारण उद्योग परिसरमा रहेका आधा दर्जनभन्दा बढी सवारीसाधन जलेका छन्। त्यहाँ लागेको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। दमकल र सुरक्षाकर्मीहरू घटनास्थलमा खटिए पनि प्रदर्शनकारीहरूले अवरोध सिर्जना गरिरहेका छन्।

राजधानीका विभिन्न क्षेत्रमा अराजक गतिविधि बढ्दै गएपछि प्रशासनले सेना परिचालन गरिसकेको छ। तीनकुने, कोटेश्वर र आसपासका क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि आन्दोलन हिंसात्मक बन्दै गएको छ। स्थानीय बासिन्दाहरू त्रसित छन् भने व्यापारीहरू आफ्नो सम्पत्तिको सुरक्षाका लागि चिन्तित भएका छन्।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरिरहेका छन्। प्रशासनले परिस्थिति नियन्त्रणमा लिन थप कडा कदम चाल्ने तयारी गरेको छ।

Give Your Feedback