पोखरा, २९ चैत्र। नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोलाउनुपर्ने माग गरेका छन्। शुक्रबार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा बसेको समितिको बैठकमा सांसद परियारले १५ चैतमा घटेको राजावादी प्रदर्शनको सम्बन्धमा पूर्वराजालाई प्रत्यक्ष रुपमा प्रश्न गर्न आवश्यक रहेको धारणा राखे।
उनले समितिमा पूर्वराजालाई बोलाएर सो दिनको घटनामा उनको संलग्नता छ कि छैन भन्ने स्पष्ट पार्नुपर्ने बताए। “पूर्वराजा शाहले त्यो घटना घटाउन निर्देशन दिएका हुन् कि होइनन् ? त्यो मानवअधिकार उल्लङ्घन हो कि होइन ? एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाइन्छ कि पाइँदैन ? यी सबै विषयमा समितिले छलफल गर्नैपर्छ,” परियारले स्पष्ट रुपमा भने।
उनले कुनै पनि व्यक्तिलाई अराजक र अमानवीय कार्य गर्न छुट नभएको उल्लेख गर्दै पूर्वराजालाई अहिले सामान्य नागरिकको रूपमा हेर्नुपर्ने बताए। संविधानले सबै नागरिकलाई समान अधिकार दिएको हुँदा पूर्वराजाले पनि त्यसैअनुसार व्यवहार गर्नुपर्ने उनको तर्क थियो।
परियारले सबै नागरिकले पाउने मानव अधिकार बराबरीका आधारमा लागू हुने र पूर्वराजा पनि त्यसैको अपवाद नहुने बताए। “संविधानको नजरमा सबै समान छन्, त्यसैले पूर्वराजालाई कुनै विशेषाधिकार छैन,” उनले जोड दिए।































