काठमाडौं, २७ कात्तिक – नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ । कम्पनीले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा सस्तो बनाएको हो ।
पोखराका लागि ५ सय रुपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।
काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ । सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक उडान थालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने कम्पनीको भनाइ छ । काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताएको छ ।

बुद्ध एयरको यस निर्णयले रात्रिकालीन उडानमा यात्रा गर्ने यात्रुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । यसले गर्दा रात्रिकालीन उडानमा यात्रुको संख्या बढ्ने र हवाई यातायात क्षेत्रमा थप प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।




























