बुटवल, २७ कार्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान चलिरहँदा बाहिर सहकारी पीडितहरूले आन्दोलन सुरु गरेका छन् । बुटवलको सुप्रिम सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् ।
रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर सहकारी पीडितले आन्दोलन थालेका हुन् । सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेमाथि लागेको सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको बेला पीडितहरूले न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् । उनीहरूले आफ्नो रकम फिर्ता पाउनुपर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
पीडितहरूले लामिछानेसँगै सहकारी ठगीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि कारबाहीको माग गरेका छन् । उनीहरूले आफूहरूले निक्षेप गरेको रकम गुमाउनु परेको भन्दै सरकारले पीडितलाई न्याय दिनुपर्ने बताएका छन् ।
यसअघि, लामिछानेलाई कास्की प्रहरी हिरासतबाट भैरहवा ल्याइएको थियो । उनलाई बुटवलस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर सहकारी ठगी प्रकरणमा बयान लिइएको छ ।




























