२९ कात्तिक, पोखरा — अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वसांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभाग (डीएनआई)को निर्देशकमा नियुक्त गरेका छन्। ४३ वर्षीया गबार्डलाई यो जिम्मेवारी दिँदै ट्रम्पले उनको नेतृत्वमा राष्ट्रिय गुप्तचर विभागको कार्यक्षमता वृद्धि हुने आशा व्यक्त गरेका छन्। गबार्डले ट्रम्पलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल एक्समा एक बयान जारी गरेकी छन्, जसमा उनले अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न ट्रम्पको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि आभार व्यक्त गरेकी छन्।
गबार्डलाई उक्त जिम्मेवारी दिने क्रममा ट्रम्पले भनेका छन्, “कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नेल तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर (डीएनआई) निर्देशकको रूपमा कार्यभार सुम्पदा म खुशी छु।” गबार्डले होमल्याण्ड सेक्युरिटी कमिटीमा दुई वर्षभन्दा बढी काम गरेका छन् र एक दशकअघि इराक युद्धमा लेफ्टिनेन्ट कर्नेलको रूपमा सेवा गरिसकेकी छन्।
गबार्डले डेमोक्रेटिक पार्टीको सदस्य भएर चार पटक सांसदको रूपमा काम गरेकी थिइन् र उनी अमेरिकी संसदमा प्रतिनिधित्व गर्ने पहिलो हिन्दु सांसद पनि थिइन्। २०२२ पछि डेमोक्रेटिक पार्टी छाडेर रिपब्लिकन पार्टीमा सामेल भएपछि गबार्डले डेमोक्रेटिक पार्टीको नेतृत्वको आलोचना गर्दै यसलाई अभिजात वर्गको कब्जामा गएको आरोप लगाएकी थिइन्। उनले यसअघि इस्लाम चरमपन्थीको विरोध गर्ने क्रममा डेमोक्रेटिक पार्टीको आलोचना पनि गरेकी थिइन्।
गबार्डको राजनीति क्यारियरमा २०१६ र २०२० मा राष्ट्रपति पदका लागि उम्मेदवारका रूपमा नाम दर्ता गरिन्, यद्यपि पछि उनी बर्नी स्यान्डर्स र जो बाइडेनको पक्षमा उभिइन्। सन् २०२२ को चुनावमा उनी रिपब्लिकन उम्मेदवारको पक्षमा सक्रिय भइन् र त्यसपछि फक्स न्यूजमा समावेश भइन्। गबार्डको नयाँ पदमा आउने सँगै, अमेरिकी गुप्तचर विभागमा परिवर्तन र नयाँ दिशा ल्याउने आशा गरिएको छ।




























