पोखरा। पिसाब र दिसाजस्तै वीर्यले पनि मानिसको स्वास्थ्यका विभिन्न सङ्केत दिन्छ। वीर्यको रङ, बनावट, गन्ध र मात्रा जस्ता तत्त्वहरूले पुरुषको स्वास्थ्यका सम्बन्धमा गहिरो सूचना दिन्छन्। यी संकेतले पुरुषलाई सम्भावित स्वास्थ्य समस्याको जानकारी दिन सक्छन् र यसबारे सचेत गराउन सक्छन्। वीर्यको विषयमा जानकारी राख्दा समग्र स्वास्थ्यलाई स्वस्थ राख्न र सम्भावित समस्यालाई चाँडै सम्बोधन गर्न सजिलो हुन्छ।

सामान्य वीर्यका विशेषताहरू

विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ वीर्यमा कम्तीमा १.५ करोड शुक्राणु प्रति मिलिलिटरको कन्सन्ट्रेसन हुन्छ जसमा ४० प्रतिशत शुक्रकीटले गतिशीलता देखाउँछन् र ४ प्रतिशतले सामान्य आकार हुन्छ। यो वीर्य अलिकति बाक्लो, जेलजस्तो बनावटमा र हल्का क्षारीय गन्धका साथ आउँछ। सामान्यतया, प्रति स्खलन १.५ देखि ५ मिलिलिटर वीर्य निस्कन्छ, जसले शुक्राणुको गतिलाई सहयोग पुर्‍याउँछ।

वीर्यको रङमा परिवर्तन र सम्भावित कारणहरू

सामान्य अवस्थामा वीर्यको रङ सेतो-खैरो हुन्छ। तर, रङमा परिवर्तन देखिएमा यसले स्वास्थ्यमा केही संकेत दिन सक्छ। पिसाब, रगत वा अन्य तरल पदार्थ मिसिएको कारण वीर्यको रङ परिवर्तन हुन सक्छ। यस्तै, भिटामिन बी वा केही औषधि लिँदा पनि वीर्यको रङमा परिवर्तन हुन सक्छ। कलेजो फेल वा जन्डिसले वीर्यलाई फिक्का बनाउन सक्छ।

पहेँलो वा हरियो रङको वीर्यले यौन संचारित सङ्क्रमण, यूरिनरी ट्रयाक्ट इन्फेक्सन वा प्रोस्टेटाइटिस जस्ता सङ्क्रमणको सङ्केत गर्न सक्छ। रातो वा खैरो रङको वीर्य, जसलाई हेमाटोस्पर्मिया पनि भनिन्छ, सामान्यतया सूजन, प्रोस्टेट सङ्क्रमण वा लामो समय बाइक चलाउँदा हुन सक्छ।

वीर्यको बनावट र घनत्वमा हुने परिवर्तन

वीर्य सामान्यतया बाक्लो र जेलजस्तो हुन्छ। तर, वीर्य धेरै बाक्लो भएमा यो निर्जलीकरणको संकेत हुन सक्छ। लामो समयसम्म निर्जलीकरणको समस्या भएका पुरुषको वीर्य मापदण्डहरूमा परिवर्तन आउँछ जसले प्रजनन क्षमतामा कमी ल्याउँछ। पातलो वीर्यले शुक्रकीटको कम सङ्ख्या वा बारम्बार स्खलन भएको सङ्केत दिन्छ।

वीर्यको गन्ध र यसका संकेतहरू

सामान्यतया वीर्यमा हल्का ब्लीच वा अमोनिया जस्तो गन्ध हुन्छ। यदि गन्ध अत्यधिक कडा वा दुर्गन्धित भयो भने, यो ब्याक्टेरियल प्रोस्टेटाइटिस वा यौन संचारित रोगको सङ्केत हुन सक्छ। यसैगरी, मीठो गन्धले मधुमेहको असामान्य ग्लुकोज स्तरको संकेत गर्न सक्छ।

वीर्यको मात्रामा हुने परिवर्तन

स्खलनको औसत मात्र १.५ देखि ५ मिलिलिटरसम्म हुन्छ। कम मात्रामा वीर्य निस्कनु बारम्बार स्खलन, कम टेस्टोस्टेरोन स्तर वा प्रजनन पथमा अवरोधको कारण हुन सक्छ। लामो समयसम्म यौन क्रियाकलाप नगरेका पुरुषमा वीर्यको मात्रा बढेको देखिन्छ।

पीडादायी स्खलनका सम्भावित कारणहरू

स्खलनको क्रममा दुखाइ हुनु, प्रोस्टेटाइटिस, युरेथ्राइटिस वा पेरियोनिज रोग जस्ता अवस्थाहरूको लक्षण हुन सक्छ। यस्ता अवस्थाहरूले पुरुषको यौन स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।

वीर्यको गुणस्तरमा जीवनशैलीको भूमिका

खानपान, हाइड्रेशन र समग्र स्वास्थ्यले वीर्यको गुणस्तरलाई असर गर्छ। स्वस्थ आहार, व्यायाम र नियमित हाइड्रेशनले वीर्य स्वास्थ्यलाई सुधार गर्न सहयोग पुर्‍याउँछ भने धूम्रपान र खराब जीवनशैलीले यसमा नकारात्मक असर पार्न सक्छ। केही औषधि र सप्लिमेन्टहरूले पनि वीर्यको गुणस्तरमा परिवर्तन ल्याउन सक्छ। उदाहरणका लागि, जिंक र फोलिक एसिड जस्ता पूरकले वीर्यको गुणस्तर सुधार गर्न सक्छन्।

कहिले डाक्टरलाई भेट्ने?

वीर्यमा कहिलेकाहीं हुने परिवर्तन सामान्य भए पनि, लगातार परिवर्तन भयो भने विशेषज्ञको परामर्श लिनु उपयुक्त हुन्छ। नियमित स्वास्थ्य परीक्षण र खुला परामर्शले पुरुषहरूको यौन स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। वीर्यको गुणस्तरमा ध्यान राख्दै, पुरुषहरूले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न र संभावित स्वास्थ्य समस्याहरू चाँडै पत्ता लगाउन सक्छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0