३ मंसिर, पोखरा। युवा स्ट्राइकर एर्लिङ हालान्डको ह्याट्रिक प्रदर्शनले नर्वेले यूईएफए नेसन्स लिग फुटबलमा कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ। लिग बी समूह ३ अन्तर्गत आइतबार राति भएको खेलमा नर्वेले उत्कृष्ट खेल प्रदर्शन गर्दै समूह विजेताको स्थान सुरक्षित गर्यो।
खेलको २३औं मिनेटमा हालान्डले पहिलो गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाए। त्यसपछि ३७औं मिनेटमा हालान्डले नै दोस्रो गोल गर्दै टोलीको अग्रता २-० मा पुर्याए। पहिलो हाफको ४१औं मिनेटमा एलेजेण्डर सोर्लोथले गोल गर्दै नर्वेलाई ३-० को सहज अग्रता दिलाए।
दोस्रो हाफमा पनि नर्वेको दबदबा कायमै रह्यो। ७१औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दै नर्वेको अग्रता ४-० बनाए। ७६औं मिनेटमा एन्टोनियो नुसाले थप गोल गर्दै नर्वेको ५-० को प्रभावशाली जित सुनिश्चित गरे।
२४ वर्षीय हालान्डको यो राष्ट्रिय टोलीका लागि चौथो ह्याट्रिक हो भने समग्र करियरमा २५औं ह्याट्रिक रहेको छ। यो जितसँगै नर्वेले ६ खेलबाट १३ अंक जोड्दै समूह विजेताको उपाधि जित्यो। कजाकस्तान भने ६ खेलमा एक बराबरीसहित मात्र १ अंक बटुल्दै पुछारमा रह्यो।
यसैगरी, नेसन्स लिगका अन्य खेलहरूमा इंग्ल्यान्डले आयरल्यान्डलाई ५-० ले पराजित गर्दा बेल्जियम भने इजरायलसँग १-० ले पराजित भएको छ।





























