६ मंसिर, चितवन। भरतपुरको सहारा बहुउद्देश्यीय सहकारी संस्थाका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध जाहेरी दिएका छन्। सहकारीको रकम विभिन्न कम्पनीमा लगानी गरिए पनि फिर्ता नआएकाले आफ्नो वचतसमेत रोकिएको भन्दै पीडित वचतकर्ताले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गराएका हुन्।
पीडितका अनुसार सहकारीले गोर्खा मिडिया नेटवर्क र जीबी राई समूहका विभिन्न कम्पनीहरूमा कुल ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ ऋण दिएको तर फिर्ता नगरेकाले उनीहरूको रकम फिर्ता नआएको हो। यसै आधारमा २४ जना वचतकर्ताले रवि लामिछाने, छविलाल जोशी, विशाल तामाङ, नवीन अछामी, र रविना रिमालसहित १० जनाविरुद्ध कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।
जाहेरीमा नेचर हर्ब्स इन्टरनेशनल प्रालिका दीपक लामा, स्प्रिङ्वुड रियलस्टेटका भगवती बम्जन, नेचर नेस्ट प्रालिका कविता तामाङ र रामबहादुर खनालसहितका नाम पनि समावेश गरिएको छ। यसअघि, सहारा सहकारीका ४४६ जना वचतकर्ताले ८ भदौमा जीबी राईसहित १७ जनाविरुद्ध ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँको माग गर्दै मुद्दा दर्ता गराएका थिए।
प्रहरी अनुसन्धानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख, नेचर हर्ब्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख, जीबी ग्रुप अफ कम्पनीजमा ९ करोड २७ लाख, स्प्रिङ्वुड रियलस्टेटमा ६ करोड ८१ लाख, र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाखभन्दा बढी लगानी भएको देखिएको छ।
वचतकर्ताले सहकारीमार्फत हिनामिना गरिएको रकम फिर्ता गर्न र संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले जिल्ला अदालत चितवनले उपलब्ध गराएको अभियोगपत्रका आधारमा आरोपितहरूमाथि कानुनी कारबाही गरी वचत फिर्ता गराउन जोडदार माग गरेका छन्।
यो प्रकरणले सहकारी क्षेत्रको पारदर्शिता र जिम्मेवारीको विषयमा गम्भीर प्रश्न खडा गरेको छ। सहकारीका रकम व्यक्तिगत लाभका लागि प्रयोग गर्नु गैरकानुनी मात्र नभई लाखौं वचतकर्ताको विश्वासमा प्रहार भएको पीडितको भनाइ छ। यस विषयमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जनाएको छ।






























