९ मंसिर, काठमाडौं। ऐतिहासिक धरहरा चढ्न र परिसरमा पार्किङ गर्न आज मंसिर ९ गतेदेखि शुल्क तिर्नुपर्ने भएको छ। संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा निःशुल्क रूपमा सर्वसाधारणका लागि खुला गरिएको थियो। तर, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो।

अब धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ। विशेष छुटका लागि विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपांगता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा अर्थात् १ सय रुपैयाँमा धरहरा चढ्न सक्नेछन्। सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र सार्कबाहेकका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

धरहराको पार्किङ शुल्क पनि आजदेखि लागु भएको छ। चार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पांग्रेका लागि प्रतिघण्टा १० रुपैयाँ तोकिएको छ। धरहरा परिसर प्रवेश गर्न ५० रुपैयाँ शुल्क तोकिएको छ भने स्तम्भमा राष्ट्रिय विज्ञापन गर्न प्रतिघण्टा ५ हजार रुपैयाँ तिर्नुपर्नेछ।

व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। शहरी विकास मन्त्रालयको प्रस्तावअनुसार यो निर्णय गरिएको हो। धरहराको व्यवस्थापनसँग सम्बन्धित संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश, २०८१ अनुसार अहिलेका लागि शुल्क लिने निर्णय गरिएको हो।

यो निर्णयसँगै धरहरा सञ्चालन व्यवस्थित बनाउने प्रयास गरिएको छ। जनता र पर्यटकहरूले शुल्क तिरेर धरहराको उपयोग गर्नुपर्ने भए पनि यो निर्णयले संरक्षण र व्यवस्थापनलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0