पोखरा, १३ मंसिर। २०८० सालमा रिलिज भएको सामाजिक विषयवस्तुमा आधारित नेपाली फिल्म ‘जारी’लाई चलचित्र विकास बोर्डले गतवर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको रूपमा पुरस्कृत गरेको छ। शीतल निवासमा बुधबार आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले फिल्मका निर्माता रामबाबु गुरुङलाई सम्मान प्रदान गरे।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मले चलचित्र विकास बोर्डको बक्सअफिस तथ्यांकअनुसार १७ करोड १७ लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। ‘जारी’ले ६ लाख १९ हजार टिकट विक्री गर्दै सर्वाधिक व्यवसायिक फिल्मको उपाधि जित्न सफल भयो।
बाँसुरी फिल्म्सले अब ‘जारी’को दोस्रो श्रृंखला निर्माणको तयारी गरिरहेको छ। राष्ट्रपतिबाट पुरस्कार ग्रहण गरेपछि निर्माता गुरुङले यो सम्मानले दोस्रो श्रृंखलाका लागि ऊर्जा थपेको बताए। यसैगरी, बाँसुरी फिल्म्स र सेभेन सिजनको सहकार्यमा बनेको यसवर्षको ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पनि चर्चामा छ। राष्ट्रपति भवनमा आयोजित समारोहमा बाँसुरी फिल्म्सका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
यसवर्षदेखि सर्वाधिक कमाइ गर्ने फिल्मलाई पुरस्कृत गर्ने प्रचलनको थालनी भएको हो।

































