१६ मंसिर, बुटवल। लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेले मंसिर मसान्तसम्म प्रदेश र जिल्लास्तरीय संयन्त्रको बैठक सम्पन्न गर्ने निर्णय गरेका छन्। शनिबार बुटवलमा बसेको संयन्त्रको बैठकले संयुक्त सरकारलाई थप प्रभावकारी बनाउन सुझाव संकलन गर्ने निर्णय गरेको मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले जनाएको छ।
बैठकमा कांग्रेसका जिल्ला सभापति र सचिव तथा एमालेका जिल्ला इञ्चार्ज र अध्यक्ष सहभागी हुनेछन्। मुख्यमन्त्री आचार्यले प्रदेश सरकारका सुशासन, भ्रष्टाचार नियन्त्रण, र पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनजस्ता कामहरूबारे जानकारी गराए। उनले सरकार सही दिशामा अघि बढिरहेको दाबी गरे।
संसदीय क्षेत्रमा भएका गतिविधिबारे नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बैठकमा जानकारी गराए। बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारलाई अझ गतिशील बनाउन सुझाव दिएका थिए।
एमाले–कांग्रेस संयन्त्रमा एमालेका पद्मा अर्याल, मुख्यमन्त्री आचार्य र प्रदेश अध्यक्ष कँडेल तथा कांग्रेसका नेता डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष पुन र विष्णु खनाल मुस्कानले नेतृत्व गरिरहेका छन्।




























