पोखरा, २१ मंसिर। देशभर हाल कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।
दिउँसोका समयमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू-भागमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि यी तीन प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने देशका अन्य स्थानहरूको मौसम सामान्यतया सफा रहने छ।
बिहानको समयमा भने तराई र उपत्यकाका केही स्थानहरूमा हल्का हुस्सु र एक-दुई स्थानमा कुहिरो लाग्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसले दैनिक जनजीवनमा केही क्षणिक असर गर्न सक्ने भएकाले यातायात र हवाई उड्डयनका यात्रुहरूले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्ता हल्का हुस्सु र कुहिरोले मुख्यतः बिहानको समयमा दृष्यता कम गर्न सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पूर्वसावधानी अपनाउन आग्रह गरेको छ। वर्तमान अवस्थाअनुसार मौसमले ठूलो प्रभाव पार्ने संकेत नरहे पनि स्थानीय स्तरमा देखिने असरप्रति सचेत रहन महाशाखाको सुझाव छ।


























